कस्ले गर्यो विवादित खगेन्द्र सुनारलाई मन्त्री बनाउने सिफारिस ?
विवादित अभियन्ता खगेन्द्र सुनारलाई मन्त्री बनाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिफारिस गरेको खुलेको छ। स्रोतका अनुसार आइतबार साढे २ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरेका चार मन्त्रीमध्येका एक सुनार विभिन्न मुद्दामा फरार अभियुक्त हुन्।
फौजदारी मुद्दामा आरोपित सुनारलाई सिफारिस गर्ने व्यक्ति न्यायालयका प्रमुख रहिसकेका श्रेष्ठ नै भएको स्रोतले जनाएको छ। विश्वस्त स्रोतका अनुसार अन्तरिम सरकार गठनदेखि मन्त्रीको छनोटसम्मको प्रक्रियामा श्रेष्ठ सक्रिय रहेका छन्। उनी नै सुनारलाई मन्त्री बनाउन जोडबल गर्दै आएको खुलासा भएको हो।
तर, कल्याण श्रेष्ठले आफू मन्त्री सिफारिस गर्ने हैसियतमा नरहेको बताएका छन्। खगेन्द्र सुनार हाल नेपाली कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत हुन्। उनी दैलेख जिल्लाबाट खुला क्लस्टरमा उम्मेदवार बनेका थिए र ३ सय ४९ मत प्राप्त गरी विजयी भएका थिए।
दैलेखको नारायण नगरपालिका–२, भैसेखोर निवासी सुनार खगेन्द्र कमानसिंहका छोरा र डिलबहादुरका नाति हुन्। उनी २०७८/७९ मा दैलेखबाट नेपाली कांग्रेसको महासमिति सदस्य निर्वाचित भएका थिए।

सुनारमाथि पछिल्लोपटक बहुविवाहको आरोप लागेको छ। २०७९ असोज ५ गते २७ वर्षीया खत्री थरकी युवतीसँग विवाह गरेको भन्दै उनकी जेठी श्रीमतीले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन्।
त्यसअघि उनी वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा समेत पक्राउ परेका थिए। दैलेखका युवाहरूसँग विदेश पठाउने भन्दै रकम असुलेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर पछि रिहा गरेको थियो।
सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात सम्बन्धी मुद्दा दर्ता भएको छ। सोही मुद्दामा अदालतले २०८१ असार २१ गते पक्राउ पुर्जी जारी गरेको थियो। मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाले जाहेरी दिएपछि अदालतले सात दिनभित्र सुनारलाई पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय दैलेखलाई निर्देशन दिएको थियो।

त्यस्तै, काभ्रे जिल्ला अदालतबाट पनि उनीविरुद्ध विद्युतीय कारोबारसम्बन्धी अर्को मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। यी दुवै मुद्दा अहिलेसम्म फर्स्यौट नभएको र उनी फरार अभियुक्तको सूचीमा रहेको प्रहरी स्रोतले जनाएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस