मेरो घर जलाउनेको मति सुध्रिएर सबैको कल्याण होस - राम नारायण विडारी
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व राष्ट्रिय सभा सदस्य राम नारायण विडारीले सामाजिक सञ्जाल फेसबुकमा आज एक स्टाटस लेख्दै आफूलाई पार्टीले नेता होइन, कार्यकर्ताबाट अलग्याएको बताएका छन्।
विडारीले लेखेका छन्, “नेता हुन कार्यकर्ता चाहिन्छ। मलाई मकवानपुरबाट लामो समयसम्म कार्यकर्ताबाट फकाएर, झुक्याएर अलग्याउने काम पार्टीले गर्यो। प्रायः कार्यकर्ता निराश–आक्रोशित र निष्क्रिय बनेका छन्। मलाई पार्टीको मुख्य जिम्मेवारी र निर्णय प्रक्रियामा संलग्न गराइएको छैन।”
उनले थपे, “मेरो स्थानमा अरूलाई स्थापित गर्ने बारम्बार प्रयास भए । ०४८ सालमा एकता केन्द्रको पाँच पार्टीमध्ये जनमुखी संलग्नता भएता पनि बिस्तारै जनमतमा अलग्याउने र निर्णयमा सहभागी नगराउने कार्य भयो, जसका कारण म माओवादीको नेतृत्वमा छैन, म नेता होइनँ।”
विडारीले आफ्नो राजनीतिक सक्रियताको लामो इतिहास उल्लेख गर्दै उनले ०३१ सालदेखि ०८२ सालसम्म भ्रष्टाचार, निरंकुशता र शोषणविरुद्ध सक्रिय भएर काम गरेको अनुभव रहेको छ। उनले भने, “०४२/०४३ मा म सक्रिय राजनीतिमा थिएँ, ती बेला अहिलेका पार्टी नेतृत्व भने गुमनाम थिए।”
उनले आफ्नो संघर्ष र योगदानप्रति ईर्ष्याले गरेको प्रतिकृयालाई पनि औँल्याएका छन् । उनका अनुसार, “कलिला बालबालिकाका हत्यारा ओली सरकारविरुद्ध उत्रिएका भिडलाई नियोजित रूपमा मेरो घरमा आक्रमण गराइयो र मेरो ५० वर्षको मेहनत नष्ट गरियो।”
उनको स्टाटस -
“माओवादी नेता हैन कार्यकर्ता हु । नेता हुन कार्यकर्ता चाहिन्छ। मलाई मकवानपुरबाट लामो समय कार्यकर्ताबाट फकाएर झुक्याएर अलग्याउने काम पार्टीले गर्यो । प्राय: कार्यकर्ता निरास-आक्रोस-निष्क्रिय भए । मलाइ पार्टीको खास जिम्मेवारी र निर्णयमा संलग्न गराइएको छैन । मेरो आधार ठाउँमा अरुलाई स्थापित गर्ने बारम्बार प्रयास भए । ०४८मा एकता केन्द्रको ५ पार्टी मध्ये एक जनमुखी संलग्नता भएकोमा बिस्तारै जनमतमा अलग्याउने र निर्णयमा सहभागी नगराऊने भएकोले म माओवादीको नेतृत्वमा छैन । अनि नेता भईन । तर नेपालको राजनैतिक ईतिहासमा ०३१साल देखि०८२ साल सम्म सधै भ्रष्टाचार-निरंकुशता-शोषण दमनको बिरुद्धमा सक्रिय रहँदै स्थापित भएको छु । ०४२/०४३मा म सक्रिय राजनीतिमा हुदा अहिलेका पार्टीको नेतृत्व राजनीतिमा गुमनाम थिए । मेरो जनमुखी काम र कुरामा ईर्ष्या डाहा लागेर कलिला बालबालिकाको हत्यारा ओली सरकार विरोधमा उत्रिएका भिडलाई मेरो घरमा पनि नियोजित आक्रमण गराएर ५० वर्षको मेरो मेहनत श्रम र ईतिहासका दस्तावेज नष्ट गराए । मेरो भ्रष्टहरुको बिरोधीमा बोलिएको बोलिको बदलामा यो जघन्य अपराध गरे । अब ति सबैको मति सुध्रिएर ति सबैको कल्याण होस । देश अग्रणी दिसा तिर जावास , अन्तमा म नेता हैन समाजमा सचेतना फैलाउने अभियानको कार्यकर्ता हु । अहिले यति।”



तपाईको प्रतिक्रिया दिनुहोस