पुस्तान्तरणसहित वाम एकता अभियानको पक्षमा रामकुमारी झाँक्री
नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्री पार्टीमा आवद्ध युवाले अघि सारेको ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागको समर्थनमा उभिएकी छन्।
झाँक्रीले बुधबार पार्टीका ५२६ जना युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई आफ्नो फेसबुक पेजमा सेयर गर्दै उक्त अभियानप्रति ऐक्यवद्धता जनाएकी हुन्।
उनले फेसबुकमा लेखेकी छन्, “विचार र राजनीतिमा संगठित नभएकै कारण ‘जेनजी’ विद्रोह अरूले हाइज्याक गरे। तपाईंहरूको प्रयास ठीक छ। मिल्नेहरू जोडिँदै जान्छन्, नमिल्नेहरू छोडिँदै जान्छन्। यो अभियान हो, आत्तिनु पर्दैन। अगाडि बढ्नुस्, मेरो सधैं साथ र शुभकामना छ।”
झाँक्रीका अनुसार जेनजी पुस्तालाई राजनीति र विचारमा परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्षम बनाउनु अहिलेको आवश्यकता हो। उनले राजनीतिक दलका युवा तथा विद्यार्थी संगठनहरू समाजमा प्रभावहीन बनेकाकै कारण जेनजी पुस्ताले ‘स्पेस’ लिएर स्वतन्त्र संघर्ष सुरू गरेको टिप्पणी गरेकी छन्।
जेनजी आन्दोलन र आन्दोलन पछिका घटनाक्रमले देखाएजस्तै लाखौँ वाम विचारमा विस्वास गर्ने मतदातालाई आफ्नै कम्युनिस्ट पार्टीमा संगठित गर्न सकिने एकीकृत समाजवादीमा आवद्ध युवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘तर, यसका लागि हामीले हाम्रो पार्टीलाई पनि रूपान्तरण गर्नुपर्छ । नेतृत्व हस्तान्तरण गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘समयको मागअनुसार पार्टीलाई सुधार गरेर, प्रगतिशील युवालाई पार्टीभित्र जबरजस्त स्थान सिर्जना गरेर हामीले व्यापक रुपान्तरणसहितको वाम एकताको आह्वान गर्नुपर्छ ।’




तपाईको प्रतिक्रिया दिनुहोस