गगन र विश्वप्रकाशप्रति महतको आक्रोश : तिमिहरूको अनुहार लिएर उपचुनावमा जाँदा हारेको हैन ?
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माप्रति आक्रोशित भएका छन्।
बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले दुई महामन्त्रीलाई लक्षित गर्दै कडा टिप्पणी गरेका हुन्। उनले अहिले पार्टी महाधिवेशनको तालिका ल्याउने समय नभएको दाबी गर्दै नेतृत्वभित्रकै अनावश्यक विवादले पार्टी कमजोर बन्दै गएको आरोप लगाए।
महतले भने, “पार्टी र नेतृत्वविरुद्ध बाहिरभन्दा भित्रबाट नै बढी आलोचना र विरोध हुने गरेको छ। पार्टी कसरी चल्छ भन्ने नै नबुझ्नेहरूले आलोचना गरिरहेका छन्।”
उनका अनुसार अहिले महाधिवेशनको कार्यतालिका ल्याउनेभन्दा पनि चुनावको तयारीमा जुट्नुपर्ने बेला आएको हो। “अहिले महाधिवेशन होइन, चुनावमा केन्द्रित हुने समय हो,” महतले भने।
त्यसै क्रममा उनले उपचुनावको प्रसंग उठाउँदै दुई महामन्त्रीको नेतृत्वमा पनि कांग्रेस पराजित भएको दाबी गरे। “पार्टीमा नयाँ अनुहार चाहिन्छ भन्नेहरूकै अनुहार उपचुनावमा देखिसकियो, परिणाम पनि देखियो,” महतले भने।
उनले थपे, “यो समय मिलेर काम गर्ने हो, पार्टीलाई तयार पार्ने र चुनावमा भिड्ने तयारी गर्ने हो। केन्द्रीय समितिले अब कसरी चुनावमा जाने भन्ने निर्णय गर्नुपर्छ।”
१५औँ महाधिवेशनको तालिका तत्काल ल्याउनुपर्ने मागबारे बोल्दै महतले भने, “अहिले किन चाहियो महाधिवेशनको तालिका ? अहिले त चुनावको तयारी गर्नुपर्ने बेला हो।”



तपाईको प्रतिक्रिया दिनुहोस