Techie IT
२०८२ कार्तिक १३, बिहीबार

पूर्णबहादुर खड्का पक्षको निष्कर्ष– पहिले चुनाव, पछि महाधिवेशन


नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठकको अघिल्लो दिन आफू निकटका नेताहरूसँग छुट्टै रणनीतिक छलफल गरेका छन्।

खड्काले सोमबार ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएर आगामी राजनीतिक रणनीतिबारे परामर्श गरेका हुन्। उक्त बैठकमा करिब ७५ जना सहभागी भएको बताइएको छ।

सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि उनले आफूपक्षीय नेताहरूसँग निरन्तर गुटगत छलफल गर्दै आएका छन्। बैठकमा सहभागी एक नेताका अनुसार छलफलले पार्टी अहिले महाधिवेशनमा होइन, आगामी २१ फागुनमा तोकिएको निर्वाचनमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको छ।

उनका शब्दमा, “अहिले महाधिवेशनमा अल्झिँदा चुनावी परिणाममा असर पर्न सक्छ। त्यसैले अहिले चुनावलाई प्राथमिकता दिने र चुनावपछि वैशाखमा महाधिवेशन गर्ने निष्कर्षमा पुगेका छौं।” यसै विषयमा भोलि बस्ने केन्द्रीय समिति बैठकमा पनि यही प्रस्ताव पेश गर्ने तयारी गरिएको उनले बताए।

तर, पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने मंसिरसम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडान दोहोर्याउँदै आएका छन्। इतरपक्षका नेता डा. शेखर कोइरालाले पनि चुनावअघि नै महाधिवेशन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

महामन्त्रीद्वय थापा र शर्माको सक्रियतामा विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन्। यदि केन्द्रीय समिति बैठकले मिति तोक्न अस्वीकार गरे, इतरपक्षले छुट्टै भेला गर्ने तयारी गरेको स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट