माओवादी विभाजन हुँदैछ, एकतामा हतार नगरौँ - घनश्याम भूसाल
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले माओवादी केन्द्रसँग एकता गर्न चाहने नेताहरूलाई सावधानी अपनाउन सुझाव दिएका छन्। उनले माओवादी अहिलेको अवस्थामा नरहने र त्यसको डिएनएकै कारण विभाजन अपरिहार्य हुने दाबी गरेका छन्।
पार्टीको बैठकमा वाम एकताबारे चलेको छलफलका क्रममा भूसालले माओवादी अहिले अवसरका लागि भौतारिँदै खिइँदै गएको बताएका हुन्। ‘माओवादी आज जे छ, त्यो रहन्न। यसको डिएनएको कारणले विभाजित हुन्छ,’ उनले बैठकमा भने, ‘म पनि राम्रो सम्पर्कमा छु।’
भूसालले आफू वाम आन्दोलनको एकताको पक्षमा रहेको तर नेता मात्रै मिलेर हुने एकताको अर्थ नहुने बताए। उनले २०७५ साल जेठ ३ गते भएको एमाले–माओवादी एकताको उदाहरण दिँदै त्यस एकता दीर्घकालीन नभएको उल्लेख गरे। ‘वैशाख अन्त्यतिर एकता नहुनेतर्फ थियो, तर जेठ १५ मा भागबण्डाका आधारमा एकता भयो,’ उनले भने, ‘त्यो एकता निरन्तर टिकेन।’
उनका अनुसार अहिले पनि त्यस्तै प्रकारको भागबण्डामूलक प्रयास भइरहेको छ, जसले पुनः असफलता निम्त्याउने सम्भावना छ। ‘वाम आन्दोलन असफल हुँदै जानुमा लिडरसिपकै असफलता छ,’ भूसालले भने, ‘माओवादी अवसरका लागि भौतारिँदै छ। हिजो ३१ लाख मत पाएको माओवादी अहिले ११ लाखमा झरिसक्यो, अब कहाँ पुग्ने हो, ख्याल गरौं।’
भूसालले वाम एकताको सिद्धान्तका आधारमा कुरा गर्नुपर्ने भन्दै, अहिले माओवादीसँग गरिँदै गरेको जस्तो एकता प्रयास सिद्धान्तहीन रहेको टिप्पणी गरेका छन् । ‘यदि सिद्धान्तकै कुरा गर्ने हो भने, एमालेसँग पनि एकता हुनसक्छ,’ उनले भने, ‘एमालेले जबजको एउटा शब्द निकाल्ने हो भने पनि त्यो सम्भव हुन्छ।’



तपाईको प्रतिक्रिया दिनुहोस