Techie IT
२०८२ कार्तिक १५, शनिबार

माओवादीसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय, झलनाथ बोल्न खोज्दा माइक काटियो


नेकपा (माओवादी केन्द्र) लगायतका कम्युनिस्ट पार्टीसँग एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको निर्णयविरुद्ध असन्तुष्ट पक्षले नेकपा (एकीकृत समाजवादी) पुनर्गठनको तयारी गरेको छ।

आज शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष नेपालद्वारा प्रस्तुत एकता प्रस्ताव बहुमतले पारित गरेको थियो। तर, सो निर्णयको विरोध गर्दै वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरूले तत्कालै भेला बोलाएर पार्टी पुनर्गठनको घोषणा गर्ने बताएका छन्।

वरिष्ठ नेता खनालले बैठकपछि भने, “हामी अब नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौं। यही पार्टीका साथीभाइहरू भेला भएर नयाँ उत्साहका साथ अघि बढ्नेछौं।”

खनालका अनुसार, कानुनी कारणले पुरानो नाम प्रयोग गर्न समस्या आए नयाँ नामसहित नयाँ संरचनामा जाने तयारी भइरहेको छ। उनले बैठकमा आफू बोल्न खोज्दा अध्यक्ष नेपालले ‘माइक काट्ने’ कार्य गरेको आरोप लगाउँदै त्यसलाई “तानासाही प्रवृत्ति” भनेका छन्।

खनालले भने, “म बोल्न खोज्दै गर्दा माइक काटियो। यो कुनै प्रजातान्त्रिक शैली होइन, तानासाही र जबर्जस्तीको व्यवहार हो।”

खनालले अध्यक्ष नेपालमाथि पार्टीलाई क्रान्तिकारी बाटोमा अघि बढाउन असफल भएको आरोप लगाएका छन्। उनले भने, “चार वर्षअघि हामीले नयाँ विचारसहित यो पार्टी बनाएका थियौं, तर माधवजीले सधैं दक्षिणपन्थी अवसरवादी बाटो रोज्नुभयो। कांग्रेसको पुच्छर बनेर अब अन्ततः पार्टी माओवादीमा विलय गर्नुभयो। यसले उनको विद्रोहदेखि विसर्जनसम्मको यात्रा टुङ्ग्यायो।”

नेपालले २०७८ साल भदौमा एमालेसँग विद्रोह गर्दै नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए। सो पार्टीलाई “क्रान्तिकारी समाजवादी पार्टी” बनाउने घोषणा गरेका नेपाल अहिले माओवादी केन्द्रसँग एकता गर्ने बहुमतले निर्णय गरिसहेका छन् ।

एकताको पक्षमा रहेका नेताहरूले भने बैठकको निर्णय सर्वसम्मत भएको दाबी गरेका छन्। उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार, “पार्टी एकताको प्रस्तावमा सबै सदस्यले समर्थन जनाएका छन्। अब केही दिनभित्रै एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ।”

उनका अनुसार माओवादी केन्द्र, नेपाल समाजवादी (नेसपा), विप्लव समूहको एक अंश, एमालेका केही नेता तथा अन्य साना कम्युनिस्ट दलहरू पनि एकता प्रक्रियामा सहभागी हुनेछन्। खतिवडाले भने, “समाजवादी मोर्चामार्फत सबै वामपन्थी शक्ति एक ठाउँमा ल्याइनेछ। अबको एक साता राजनीतिक दृष्टिले निकै निर्णायक बन्नेछ।”



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट