ओलीको ‘घर फर्क’ आह्वान सचिवालयमा प्रवेश, फर्कनेहरूका शर्तबारे छलफल हुँदै
नेकपा (एमाले)को आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर गएकालाई ‘घर फर्किनुहोस्’ भन्ने आह्वानको विषय पनि छलफलमा प्रवेश गर्ने भएको छ।
पार्टी स्रोतका अनुसार, शुक्रबार ओलीले सामाजिक सञ्जालमार्फत गरेका उक्त आह्वानलाई अनुमोदन गर्दै, फर्किन इच्छुक नेता–कार्यकर्ताका शर्त र व्यवस्थापनबारे बैठकमा विस्तृत छलफल हुनेछ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘विविध’ शीर्षकअन्तर्गत यस्ता प्रस्तावहरू स्वतः विशेष एजेन्डाका रूपमा समेटिने जानकारी दिएका छन् ।
हिजो मात्रै एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी)ले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेसँगै, ओलीले सार्वजनिक रूपमा सबैलाई “आफ्नै घर फर्किन” आह्वान गरेका थिए।
माओवादीसँगको एकताको निर्णयमा झलनाथ खनाल, घनेन्द्र बस्नेत, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतका प्रभावशाली नेताहरूले असहमति जनाइसकेका छन्। राजनीतिक वातावरण अनुकूल भए ती नेताहरू पुनः एमालेमा फर्किन सक्ने चर्चा चलिरहेको छ।
त्यस्तै, सचिव योगेश भट्टराईले आज बिहानै ओलीको आह्वानलाई स्वागत गर्दै एकताको चार आधार प्रस्तुत गरेका छन्। उनका अनुसार, “प्रतिशोध र घृणा त्यागी सहकार्य र सहअस्तित्वमार्फत एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ।”



तपाईको प्रतिक्रिया दिनुहोस