नेकपा (एमाले) ले देशभर जनभेला तथा प्रदर्शन गर्ने
नेकपा (एमाले) ले संविधानको रक्षा र लोकतन्त्रको जगेर्नाका उद्देश्यले देशभर जनभेला तथा प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ।
शनिबार अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।
बैठकमा तय गरिएको कार्यक्रमअनुसार, कार्तिक २२ गते देशभरका वडास्तरमा जनभेला, कार्तिक २५ गते पालिकास्तरमा प्रदर्शन, र कार्तिक २९ गते जिल्ला सदरमुकाममा जनसभा आयोजना गरिनेछ। उक्त अभियानको समापन मंसिर ६ गते काठमाडौंमा हुने बृहत् जनसभाबाट गरिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
यसैगरी, यसअघि पोखरामा तोकिएको महाधिवेशन स्थल परिवर्तन गरी काठमाडौंमा गर्ने निर्णय गरिएको छ। महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने तय गरिएको छ।
ज्ञवालीका अनुसार, महाधिवेशनका लागि करिब २,१०० प्रतिनिधि चयन गरिनेछन्। त्यसका लागि मंसिर १३ गते देशभर एकैसाथ निर्वाचन सम्पन्न गरिनेछ। बैठकले संघीय निर्वाचन क्षेत्र, पार्टी सदस्य संख्या, दलित, मजदुर, महिला र युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित हुने गरी प्रतिनिधि चयनको मापदण्ड टुंगो लगाएको छ।
त्यसैगरी, बैठकले विभिन्न समसामयिक विषयमा प्रस्ताव पारित गर्दै हालै निधन भएका केन्द्रीय सदस्य तथा ट्रेड युनियन नेता कमल गौतमप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
साथै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको घरमा भएको आक्रमणको भर्त्सना गर्दै दोषीमाथि तत्काल कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ। बैठकले विद्युत् कटौतीका कारण मारमा परेका उद्योगी–व्यवसायी र न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस