सुशीला कार्की नेतृत्वको वर्तमान सरकार कठपुतली सरकार हो - आहुति
आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले आफ्नो हालै सम्पन्न केन्द्रीय कमिटी बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र जेनजी आन्दोलनसम्बन्धी आफ्नो धारणा सार्वजनिक गरेको छ।
पार्टी प्रवक्ता राजेश्वरी सुवेदीका अनुसार, बैठकले विगतका न्यायपूर्ण आन्दोलनका सहिद र नेता क. नन्दन अर्यालको स्मरण गर्दै सुरु भएको थियो। बैठकमा ‘जेनजी विद्रोह’ पछि नेपाली समाजमा देखिएका राजनीतिक अन्तर्विरोध कुनै प्रतिगमन वा यथास्थितिबाट समाधान नहुने निष्कर्ष निकालिएको छ।
बैठकले दलाल संसदीय पुँजीवाद र सीमित संसदीय निर्वाचनको विकल्पका रूपमा नेपाली मौलिकताको वैज्ञानिक समाजवादी शासकीय मोडेल प्रस्ताव गर्ने निर्णय गरेको छ। पार्टीले आत्मनिर्भर अर्थतन्त्र, राजनीति र संस्कृति सहित नयाँ कम्युनिस्ट आन्दोलनको मार्गचित्र तयार गरेको पनि विज्ञप्तिमा उल्लेख छ।
यसैगरी, पार्टीले पुरानो ‘जनवादी केन्द्रीयता’को सिद्धान्तलाई अब ‘सामुदायिक सार्वभौमिकता’को नयाँ संगठनात्मक सिद्धान्तले प्रतिस्थापन गर्ने निर्णय गरेको छ। वैचारिक स्पष्टताको माध्यमबाट सच्चा कम्युनिस्ट र क्रान्तिकारीहरूलाई नयाँ युगको क्रान्तिमा लाग्न पार्टीले अपील गरेको छ।
प्रवक्ता सुवेदीका अनुसार, सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उत्पन्न नभई वैदेशिक शक्तिद्वारा उभ्याइएको कठपुतली सरकार हो। यसैले यो सरकारले नेपाली समाजका वर्तमान अन्तर्विरोधहरू समाधान गर्न सक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको छ।
प्रेस विज्ञप्ति हेर्नुहोस् -





तपाईको प्रतिक्रिया दिनुहोस