Techie IT
२०८२ कार्तिक १८, मंगलबार

“नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत नपुग्दा कम्युनिस्ट आन्दोलन विघटनको अवस्थामा पुग्यो” - राम कार्की


नेता राम कार्की

नेकपा (माओवादी केन्द्र)का पूर्व नेता तथा ‘प्रगतिशील अभियान नेपाल’का संयोजक राम कार्कीले आफूहरूको पुस्ताले “नालायक नेतृत्वलाई प्रतिस्थापन गर्न सक्ने ल्याकत राख्न नसकेको” स्वीकार गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको कम्युनिस्ट आन्दोलन विघटनको अवस्थामा पुगेको दाबी गरे। उनका अनुसार, केही नेताहरूका लागि पार्टी अझै भए पनि जनता र जेनजी पुस्ताको दृष्टिमा ती पार्टीहरू अब विघटित भइसकेका छन्।

कार्कीले भने, “नेपालका राजनीतिक पार्टी र जनसमुदायबीच गहिरो खाडल बनेको छ। हामीले आफ्नै नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने क्षमता राखेनौँ। अहिले भ्रष्टाचारका अभियोग लागेका नेताहरू टाउकोमा कल्की झुण्डाएर ठूला पदमा पुगेर एकताको स्वाङ गर्दैछन्।”

उनले हाल भइरहेको ‘वाम ध्रुवीकरण’ प्रक्रियालाई पनि औपचारिकता मात्र रहेको भन्दै आलोचना गरे। “केही नेताहरू जनताको भावनासँग खेल्दै छन्,” उनले भने, “हामी नयाँ दल खोल्न होइन, गल्ती स्वीकार गरेर सुधारको अभियान चलाउन लागेका हौँ।”

कार्कीले माओवादी आन्दोलन संसदीय व्यवस्थामा रुमल्लिएर समाप्त भएको टिप्पणी पनि गरेका छन् । उनका अनुसार, माओवादीले सञ्चालन गरेको जनयुद्धले समाजका अन्तरविरोधहरू सतहमा ल्याएको भए पनि त्यस सकारात्मक ऊर्जालाई रुपान्तरणतर्फ लैजान नसक्नु ठूलो कमजोरी हो।

“सशस्त्र संघर्ष निरन्तर सम्भव थिएन, तर संसदीय राजनीतिमा डुबुल्की मारेजस्तो गरेर आन्दोलन समाप्त गर्नु गल्ती थियो,” उनले भने।

उनका अनुसार, अब शान्तिपूर्ण तर जुझारु संघर्षको आवश्यकता छ। दलका वयोवृद्ध नेताहरू अझै नेतृत्व छाड्न नचाहेको भन्दै उनले कटाक्ष गरे “हाम्रा नेताहरू ७५ वर्ष पुगेका छन्, तर अझै पनि ‘म छैन भने पार्टी छैन’ भन्ने सोचमा छन्। यो अवस्था अन्त्य हुनुपर्छ।”

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई उनले “कूशासनको विस्फोट” भनेका छन्। “देशमा दशकौँदेखि चलेको कूशासनकै परिणाम स्वरूप त्यो आन्दोलन भयो, तर नेताहरूमा अझै ग्लानीभाव देखिँदैन, कसैले क्षमा मागेको छैन,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट