Techie IT
२०८२ कार्तिक २१, शुक्रबार

राजनीतिक आन्दोलनका नाममा हुने आगजनी र लुटपाट आतंकवादको रूप हो : आईजीपी खापुङ


नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा हुने आगजनी, तोडफोड र लुटपाटजस्ता घटना आतंकवादलाई प्रश्रय दिने बताएका छन्।

इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा उनले सामाजिक सञ्जालमार्फत नेपाली समाजमा “विध्वंसको बारुद” भरिँदै गएको भन्दै यसले देश ठूलो दुर्घटनातर्फ लैजाने चेतावनी दिएका छन्।

आईजीपी खापुङले भने, “राजनीतिक आन्दोलनका क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो। जब मेरो वा तपाईंको घर सुरक्षित छैन भने त्यो आतंकवादको सुरूआत हो।” उनले थपे, “सामाजिक सञ्जालमार्फत मानिसको दिमागमा बारुद भर्दै जाने हो भने देश, समाज र हामी कोही पनि सुरक्षित रहँदैनौं। त्यसैले संयमित भएर देशलाई अगाडि राख्नुपर्छ।”

खापुङका अनुसार भदौ २३ र २४ का घटनामा प्रहरीले “दोहोरो मार” भोग्नुपर्‍यो। उनले भने, “भदौ २३ मा गोली चल्दा पनि प्रहरीमाथि आरोप लगाइयो, र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइयो।”

उनले स्पष्ट पारे, “त्यो दिन गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली वा गृहमन्त्री रमेश लेखकले दिएका थिएनन्, कानूनमै त्यस्तो व्यवस्था छैन।”

खापुङका अनुसार संसद भवन, सिंहदरबारजस्ता ‘भाइटल सरकारी संरचना’ जोगाउन प्रहरीका विशेष फोर्सलाई गोली चलाउने अधिकार हुन्छ। “यदि त्यस्तो अवस्थामा पनि कारबाही गर्न पाइँदैन भने राज्यले प्रहरी संरचना नै नराखे हुन्छ,” उनले भने।

उनले भदौ २३ का घटनामा पनि सरकारले न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको र करिब २ हजार राउण्ड गोली चल्दा पनि “मानवीय क्षति न्यून” रहेको बताएका छन् । आईजीपी खापुङले संसद भवन तोडफोड र आगजनीपछि गोली चलाउन बाध्य हुनुपरेको उल्लेख गर्दै भने, “केही नगर्दा पनि छानबिन, केही गर्दा पनि छानबिन हुने स्थिति"ले नीतिगत स्पष्टताको आवश्यकता देखाएको छ।

आन्दोलनकारीहरूले निहत्था प्रहरीमाथि कुटपिट, घिसार्ने, घोच्ने गरी हत्या गर्ने घटना हुँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइने प्रवृत्तिले समाज सुरक्षित नहुने उनको टिप्पणी छ।

खापुङले थपे, “कानून अनुसार काम गर्दा पनि प्रहरीलाई छानबिनको दायरामा ल्याइन्छ। आजका प्रहरी भोकै रहँदै पनि देशको सुरक्षामा खटिएका छन्, तर उनीहरूकै आवाज सुन्ने कोही छैन।”

उनका अनुसार, राजनीतिक आन्दोलन र अपराधबीच स्पष्ट भिन्नता गर्नुपर्ने समय आएको छ। “सर्वोच्च अदालत, संसद भवन वा सिंहदरबारमा आगजनी गर्नेहरूलाई राजनीतिक भन्ने कि अपराधी भन्ने ? पहिले त्यो प्रष्ट हुनुपर्छ,” आईजीपी खापुङले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट