जेन्जी मुभमेन्टले कार्तिक २३ गते काठमाडौंमा ‘जेन्जी सभा’ गर्ने
जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि ‘निर्णायक संघर्ष’ सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दा अपहरण भएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो।
भेलाले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गर्दै सरकारलाई ‘सत्ता कु’ को परिणाम भएको दाबी गरेको छ। मुभमेन्टको भनाइमा, “कार्कीहरूले बलिदानको नाममा सत्ता कब्जा गरेका छन्, यो आन्दोलनका सहिदहरूप्रतिको विश्वासघात हो।” भेलाका सहभागीहरूले विद्रोहका उपलब्धिहरू मोलमोलाइमा पारिएको आरोप पनि लगाएका छन्।
जेन्जी मुभमेन्टका प्रवक्ता विजय शाहले भने, “यो देशको नयाँ पुस्ताले केवल प्रतीकात्मक परिवर्तन होइन, संरचनात्मक रुपान्तरण खोजेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली र सार्वजनिक संस्थाहरूको पुनरसंरचना बिना स्थायित्व र सुशासन सम्भव छैन।”
भेलाले ती दुई प्रमुख माग—प्रत्यक्ष कार्यकारी प्रणाली र संस्थागत पुनरसंरचना पूर्ण नभएसम्म संघर्ष जारी राख्ने घोषणा गरेको छ। मुभमेन्टले अबको आन्दोलनलाई ‘शान्तिपूर्ण तर निर्णायक’ बनाउने प्रतिबद्धता जनाएको छ।
भेलाले देशभरका युवाहरू, नागरिक समाज र सचेत वर्गलाई पुनः एकताबद्ध हुन आह्वान गर्दै भनेको छ, “हाम्रो बलिदान इतिहासको प्रतीक होइन, भविष्यको दिशा हो। यो पुस्ताले सत्य र परिवर्तनका लागि अन्तिमसम्म संघर्ष गर्नेछ।”
कार्यक्रममा आन्दोलनका आगामी चरण, जनसंपर्क विस्तार र राष्ट्रिय समन्वय समिति गठनबारे विस्तृत छलफल गरिएको बताइएको छ। मुभमेन्टले निकट भविष्यमै देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ। भेलाले कार्तिक २३ गते काठमाडौंमा ‘जेन्जी सभा’ आयोजना गर्ने निर्णय पनि गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस