वामपन्थी एकता रणनीतिक होइन, राष्ट्रको आवश्यकता हो - प्रचण्ड
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र दम्भका कारण विघटन भएको आरोप
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबीच भएको एकता कुनै रणनीतिक कदम नभएको स्पष्ट पारेका छन्।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित एकता समायोजन सभालाई सम्बोधन गर्दै उनले यो एकता राष्ट्रको आवश्यकता र ‘जेनजी विद्रोह’को समीक्षाबाट प्रेरित भएको बताए। ‘यो कुनै ट्याक्टिकल (रणनीतिक) एकता होइन,’ उनले भने, ‘राष्ट्र बचाउनका लागि यो एकता भएको हो। जेनजी विद्रोहले नेपाली समाजलाई गहिरो रूपमा घोच्यो र हामीलाई आत्मसमीक्षा गर्ने स्थितिमा ल्यायो। सुशासन र नेतृत्वको रूपान्तरणको पक्षमा युवाहरूले आवाज उठाएका कारण यो एकता सम्भव भएको हो। त्यसका लागि म ती जेनजी युवालाई धन्यवाद दिन चाहन्छु।’
प्रचण्डले यो एकतालाई दीर्घकालीन रणनीति र स्थायी कम्युनिस्ट एकताको सुरुवातका रूपमा चित्रण गरेका थिए । उनले वामपन्थी एकताले देशमा अन्य राजनीतिक दल नै नहुने स्थिति आउने संकेत पनि गरेका छन् ।
‘वामपन्थी १२ घटकबीच एकता भइसकेको छ, केही समयपछि थप घटकहरू पनि आउनेछन्,’ उनले भने, ‘आजै पेरिसडाँडामा नेताहरूसँग छलफलमा मैले मजाकमै भनेको थिएँ - यस्तो एकता जारी रह्यो भने देशमा पार्टी नै नहुने हो कि।’
अघिल्लो पटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकता तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार र दम्भका कारण विघटन भएको आरोप पनि उनले लगाए।



तपाईको प्रतिक्रिया दिनुहोस