सिमराको घटनाका सबै पक्षलाई संयमता अपनाउन प्रचण्डको आग्रह
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बुधवारदेखि जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सबै पक्षलाई स्थितिलाई थप हिंसात्मक वा नियन्त्रणबाहिर जान नदिन उच्च संयमता अपनाउन आग्रह गरेका छन्।प्रचण्डले भने, “लोकतान्त्रिक व्यवस्थामा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हो। यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृतिविरुद्धको काम हो।”
उनले राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र नेताहरूलाई निर्बाध रूपमा हिँडडुल गर्न, सभा समारोह आयोजना गर्न सकिने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी भएको बताएका छन् ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखा परेको तनावप्रति चासो व्यक्त गर्दै प्रचण्डले घोषित निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भनी आग्रह गरेका छन्।
साथै, उनले आफ्ना दलका स्थानीय समितिलाई पनि परिस्थितिलाई सामान्य बनाउन आवश्यक सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस