रिम्पोछे प्रकरणले नेपाल चीनविच कूटनीतिक संकट निम्त्याउन सक्छ: वरिष्ठ नेता खनाल
तिब्बती मूलका बौद्ध धर्मगुरु जोनाङ ग्याल्त्साब रिम्पोछेको नेपाल आगमन र काठमाडौँको बौद्धमा भइरहेको प्रवचनप्रति पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।
मंगलबार नेपाली कम्युनिस्ट पार्टी, काठमाडौँ क्षेत्र नम्बर ८ अन्तर्गत वडा नम्बर–१५ को निर्वाचन परिचालन समिति सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै खनालले रिम्पोछेको आगमन सामान्य धार्मिक गतिविधि मात्र नभई कूटनीतिक रूपमा संवेदनशील विषय भएको बताएका हुन् ।
उनले सरकारकै संरक्षणमा यस्तो गतिविधि हुनुले नेपालको स्थापित एक चीन नीतिमाथि ठाडो प्रहार भएको टिप्पणी गर्दै यसले नेपाल–चीन सम्बन्धलाई इतिहासकै सबैभन्दा कमजोर अवस्थामा पुर्याएको आरोप लगाए।
हाल जोनाङ ग्याल्त्साब रिम्पोछे काठमाडौँमा १० दिने बौद्ध धर्मसम्बन्धी प्रवचनमा सहभागी भइरहेका छन्। यही विषयलाई लिएर छिमेकी मित्रराष्ट्र चीनले कूटनीतिक असन्तुष्टि जनाएको चर्चा चलिरहेका बेला खनालको कडा प्रतिक्रिया आएको हो।
“यस्तो गैरजिम्मेवार रवैयाले नेपाल–चीन सम्बन्धलाई इतिहासकै तल्लो स्तरमा पुर्याएको छ,” खनालले भने, “यसको असर केवल कूटनीतिक सम्बन्धमा मात्र सीमित नरही देशमा थप राजनीतिक संकट निम्त्याउने खतरा छ।”
खनालले नेपालको भूराजनीतिक संवेदनशीलता र छिमेकी राष्ट्रहरूसँगको सन्तुलित सम्बन्धलाई बेवास्ता गर्दै गरिने कुनै पनि गतिविधि राष्ट्रिय हितविपरीत हुने चेतावनी दिए।
उनले सरकारलाई एक चीन नीतिप्रति स्पष्ट, दृढ र व्यवहारिक प्रतिबद्धता देखाउन आग्रह गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस