Techie IT
२०८३ वैशाख १५, मंगलबार

रवि लामिछानेको मुद्दा फिर्ता निर्णयविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै दायर गरिएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र फिर्ता गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतले उक्त रिटलाई न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेल को संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकेको हो।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसँगै जोडिएका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएपछि उक्त निर्णयविरुद्ध रिट दायर गरिएको थियो।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफल ले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

महान्यायाधिवक्ता भण्डारीले पुस ३० गते जारी गरेको सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’मार्फत लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा मात्र अघि बढाउने र अन्य दुई गम्भीर प्रकृतिका मुद्दा हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्देशनअनुसार कास्की जिल्ला अदालत र रुपन्देही जिल्ला अदालत मा निवेदन पेस गरिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले सुनुवाइ हुन सकेको छैन।

यद्यपि महान्यायाधिवक्ता कार्यालयको निर्देशनअनुसार काठमाडौँ जिल्ला अदालत र पर्सा जिल्ला अदालत का सरकारी वकिल कार्यालयले भने लामिछानेसहितको अभियोग पत्र संशोधनका लागि अझै निवेदन दिएका छैनन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट