जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीको माग
प्रतिवेदन लुकाएर सत्य दबाउन खोजियो
उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
पार्टीका प्रवक्ता डा. राजु थापाले जारी गरेको विज्ञप्तिमा आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक तथा लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रकृतिका घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढ्नु स्वाभाविक हुन्छ।”
पार्टीले पीडित पक्ष, घाइते, मृतकका परिवार तथा आन्दोलनसँग जोडिएका नागरिकले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा गरिरहेका बेला प्रतिवेदन गोप्य राख्नु उचित नहुने धारणा व्यक्त गरेको छ।
“सत्य लुकाएर स्थायित्व आउँदैन, सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग खुल्छ,” विज्ञप्तिमा भनिएको छ। पार्टीका अनुसार कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन सरकारको फाइलमा सीमित रहने कागजपत्र मात्र नभई सार्वजनिक सरोकार, संस्थागत सुधार, जिम्मेवारी निर्धारण तथा न्यायिक र प्रशासनिक प्रक्रियाको आधार बन्नुपर्ने दस्तावेज हो।
त्यसैले प्रतिवेदन सार्वजनिक गर्नु कसैलाई पूर्वाग्रही रूपमा दोषी ठहर गर्नु नभई सत्यतथ्यलाई जनतासामु ल्याएर निष्पक्ष प्रक्रिया अघि बढाउने आवश्यक प्रारम्भिक कदम भएको पार्टीको भनाइ छ।
उज्यालो नेपाल पार्टी नेपालले सरकारसमक्ष राखेका मागहरु -
१. गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् ।
२. प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको हो भने त्यसबारे स्पष्ट आधिकारिक जानकारी र समय सीमा सार्वजनिक गरियोस् ।
३. प्रतिवेदनका निष्कर्ष र सिफारिसका आधारमा जिम्मेवार पक्षमाथि निष्पक्ष, पारदर्शी र कानूनसम्मत प्रक्रिया तत्काल अघि बढाइयोस् ।
४. पीडित, घाइते, मृतकका परिवार तथा प्रभावित समुदायलाई सत्य, न्याय र परिपूरणको अनुभूति हुने गरी आवश्यक निर्णय गरियोस् ।
५. भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रको आचरण, भीड व्यवस्थापन, आदेश प्रणाली, मानव अधिकार संरक्षण तथा नागरिक स्वतन्त्रताको प्रत्याभूति सम्बन्धी स्पष्ट सुधारात्मक योजना सार्वजनिक गरियोस् ।



तपाईको प्रतिक्रिया दिनुहोस