रास्वपा सरकारलाई डा. मुकुल ढकालका ७ सल्लाह: विदेश नीतिमा आफूलाई कमजोर सम्झनू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकाल पार्टीमा सक्रिय पदमा नभए पनि शुभेच्छुकका रूपमा मात्र रहेका छन्। अघिल्लो निर्वाचनमा पार्टी सञ्चालनमा केन्द्रित ढकाल अहिले रास्वपाबाहिर छन्, तर उनकै अगुवाइमा बनेको पार्टी विधान अझै कार्यान्वयनमा छ।
रास्वपा सरकारको सफलताका पक्षमा उभिएका ढकालले एक वाक्यको सल्लाह दिँदै भने, “स्वदेश नीतिमा दुईतिहाइको जनमत भएको सम्झनू, तर विदेश नीतिमा ४८ प्रतिशत जनमत मात्रै भएको सम्झनू।”
पेसाले चिकित्सक रहेका ढकालले शिलापत्रसँगको कुराकानीमा सरकारलाई सात महत्वपूर्ण सुझाव दिएका छन्:
१. पार्टी सक्षम बनाउने, सरकार स्वतन्त्र राख्ने
ढकालका अनुसार पार्टी र सरकारबीच स्पष्ट सीमांकन हुनुपर्छ। परम्परागत राजनीतिक शैली त्याग्दै जिम्मेवारी विभाजन प्रस्ट हुन जरुरी छ। मन्त्री चयनमा लबिङ होइन, संस्थागत प्रक्रिया हुनुपर्ने उनको भनाइ छ।
२. स्थायी सत्ताको विश्वास जित्ने
सरकारले सेना, प्रहरी, कर्मचारीतन्त्र र न्यायालयजस्ता ‘स्थायी सत्ता’ सँग विश्वासको सम्बन्ध बनाउनु पर्नेमा ढकाल जोड दिन्छन्। कर्मचारीसँग टकराव होइन, सहकार्य आवश्यक रहेको उनको धारणा छ।
३. भ्रष्टाचारविरुद्ध स्पष्ट ‘जेल नीति’
भ्रष्टाचार नियन्त्रणका लागि कस्तो स्तरसम्मका अपराधीलाई जेल हाल्ने भन्ने स्पष्ट नीति आवश्यक रहेको उनले बताए। “सबैलाई जेल हाल्ने कि शीर्ष भ्रष्टाचारलाई मात्रै कारबाही गर्ने?” भन्ने विषयमा स्पष्टता हुनुपर्ने उनको भनाइ छ।
४. कानुन सहज, कार्यान्वयन कडा
नेपालमा कानुन जटिल र कार्यान्वयन कमजोर रहेको भन्दै उनले कानुनलाई सरल र कार्यान्वयनलाई कडा बनाउनुपर्ने सुझाव दिएका छन्।
५. नयाँ होइन, पुराना परियोजना सम्पन्न गर्ने
ढकालका अनुसार नयाँ योजना ल्याउनु अघि अधुरा परियोजना पूरा गर्नुपर्छ। स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै पाइपलाइनमा रहेका योजनाहरू समयमै सम्पन्न गर्नु आवश्यक छ।
६. शान्ति र विकासमा केन्द्रित कूटनीति
भूराजनीतिक जटिलताबीच राष्ट्रिय सहमतिमा आधारित विदेश नीति अपनाउनुपर्ने ढकालको सुझाव छ। उनले विगत सरकारका सकारात्मक पहललाई निरन्तरता दिन पनि आग्रह गरेका छन्।
७. मिडियालाई ‘सल्लाहकार र खबरदारी’ बनाउने
ढकालले मिडियालाई सरकारको विरोधी मात्र नभई सल्लाहकारका रूपमा पनि उपयोग गर्नुपर्ने बताएका छन्। “पर्सेप्सन म्यानेजमेन्ट” मा ध्यान नदिए उपलब्धि पनि प्रभावहीन बन्ने उनको चेतावनी छ।



तपाईको प्रतिक्रिया दिनुहोस