निर्वाचनमा पराजयपछि कांग्रेस ‘एक्सन’मा : गगन थापाको नेतृत्वमा देशव्यापी संवाद अभियान चलाइने
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नराम्रो हार व्यहोरेपछि नेपाली कांग्रेस लाई पुनर्जीवित गर्ने उद्देश्यले सभापति गगन थापाको नेतृत्वमा राष्ट्रिय स्तरमा व्यापक संवाद कार्यक्रम सञ्चालन गरिने भएको छ।
पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले केन्द्रीय समितिको निर्णयअनुसार नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम अघि बढाइने जानकारी दिएका छन् ।
उनका अनुसार हालैको निर्वाचनमा भोगेको हारको समीक्षा गर्दै पार्टीलाई पुनः सशक्त बनाउने उपाय खोज्न देशव्यापी संवाद अभियान सञ्चालन गर्न लागिएको हो। “कांग्रेसले नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै बुद्धिजीवी, पेसाकर्मी, नागरिक अगुवा तथा विभिन्न क्षेत्रका प्रतिनिधिसँग सभापतिको नेतृत्वमा छलफल र समीक्षा गर्नेछ,” उनले भने।
कार्यक्रममार्फत चुनावी पराजयको गहिरो समीक्षा गरिने र त्यसपछि पार्टीलाई पुनर्जीवित गर्ने रणनीति तय गरिने उनले बताए। उक्त अभियानलाई जिल्ला तहसम्म विस्तार गरिने योजना पनि कांग्रेसले अघि सारेको छ।
पौडेलका अनुसार जिल्ला स्तरमा बुद्धिजीवी, युवा, पेसाकर्मी तथा विभिन्न वर्गसँग कांग्रेसका प्रतिनिधिहरूले प्रत्यक्ष संवाद गर्नेछन्। यस क्रममा निर्वाचनको समीक्षा मुख्य प्राथमिकतामा रहनेछ।
साथै, स्थानीय तहको आवश्यकता अनुसार सामाजिक कार्यक्रम सञ्चालन गर्दै पार्टीलाई जनतासँग जोड्ने र सङ्गठनलाई सक्रिय बनाउने लक्ष्य राखिएको छ। पार्टीका प्रतिनिधिहरूलाई सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी भई सङ्गठन सुदृढीकरणमा जुट्न निर्देशन दिइएको पनि उनले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस