फरार देउवा दम्पतीलाई अब इन्टरपोलले समात्ने
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। देउवा परिवारको अस्वाभाविक वित्तीय कारोबार र शङ्कास्पद सम्पत्ति फेला परेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो।
भ्रष्टाचार र अकुत सम्पत्तिको अनुसन्धान तीव्र भइरहेका बेला देउवा दम्पती भने देश बाहिर छन्। चुनावको पूर्वसन्ध्यामा गत फागुन १४ गते उपचारको बहाना बनाएर उनीहरू सिङ्गापुर उडेका थिए। हाल उनीहरू हङकङमा बसिरहेका स्रोतको दाबी छ। यसअघि 'जेनजी' (Gen Z) आन्दोलनको रापताप बढ्दा पनि उनीहरू त्यसैगरी सिङ्गापुर पलायन भएका थिए।
दम्पती नै फरार रहेकाले प्रहरीले अब अन्तर्राष्ट्रिय अपराध नियन्त्रण संगठन (इन्टरपोल) गुहार्ने भएको छ। प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) ले अदालतको पक्राउ पूर्जीका आधारमा नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। नोटिस जारी भएपछि इन्टरपोलका १९६ सदस्य राष्ट्रमध्ये जहाँ भेटिए पनि उनीहरूलाई पक्राउ गरी नेपाल ल्याउन बाटो खुल्नेछ।
बूढानीलकण्ठस्थित देउवा निवासमा जारी निर्माण र भत्काउने कार्यलाई प्रशासनले तत्काल रोक्न आदेश दिइसकेको छ । घरभित्र लुकाइएका प्रमाण नष्ट हुनसक्ने भन्दै सम्पत्ति शुद्धीकरण विभागले सो क्षेत्रलाई निगरानीमा राखेको छ।
अनुसन्धानको घेरामा छोरा जयवीर र नातेदार
पछिल्लो समय देउवा पुत्र जयवीर सिंह देउवा र उनका निकटतम नातेदारका नाममा खरिद गरिएको ७३ रोपनी जग्गाको विवरण अनुसन्धानको मुख्य केन्द्रमा छ। प्रदीपशमशेर जबरा र भूषण राणा लगायतका व्यक्तिमार्फत जयवीरको खातामा भएको मोटो रकमको कारोबारबारे सूक्ष्म अनुसन्धान भइरहेको छ। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरण र टेलिकमको बिलिङ अनियमिततामा समेत डा. आरजुको नाम मुछिएको थियो।
गत भदौमा भएको 'जेनजी' आन्दोलनका क्रममा देउवा निवासमा जलेका नोटहरू फेला परेका थिए । त्यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। सोही घटनापछि सम्पत्ति शुद्धीकरण विभागले मुचुल्का उठाएर अनुसन्धानलाई तीव्रता दिएको थियो। सोही फाइलको आधारमा केही दिनअघि मात्र पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस