अनलाइन बाटै कार्यकर्ताको सुझाव लिँदै एमाले
नेकपा (एमाले) ले फागुन २१को निर्वाचनमा बेहोरेको पराजयपछि पार्टीलाई जगैदेखि पुनर्संरचना गर्ने प्रक्रिया सुरु गरेको छ। महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने उद्घोष गरेका छन्। पोखरेलका अनुसार यतिबेला एमाले निर्वाचनको निर्मम समीक्षाको चरणमा छ।
वडा, पालिका र जिल्ला तहमा समीक्षा जारी रहेको र प्रदेशबाट प्रतिवेदन प्राप्त हुनासाथ केन्द्रीय सचिवालयले अन्तिम प्रतिवेदन तयार पार्नेछ। पार्टीले यसपटक परम्परागत शैली छाडेर आधुनिक प्रविधि (अनलाइन प्रश्नावली) मार्फत अगुवा कार्यकर्ताका व्यक्तिगत सुझावहरू समेत संकलन गरिरहेको महासचिवले बताएका छन्।
हेर्नुहोस् महासचिव पोखरेलको स्टाटस -
यतिबेला नेकपा (एमाले) आम निर्वाचन ०८२ मा बेहोर्नु परेको पराजयपछि समिक्षाको चरणमा प्रवेश गरेको छ। निर्वाचन समिक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको छ। प्रदेशबाट समिक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रिय सचिवालयका तर्फबाट समिक्षा प्रतिवेदन तयार गरिने छ ।
निर्वाचन समिक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयार गरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको छ। यी सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्षको उपस्थितिमा केन्द्रिय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समिक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तय गर्नेछ।
निर्वाचन समिक्षाका आधारमा पार्टीलाई योजनावद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिनेछ। त्यसैले यस अवधिमा नियोजित तथा प्रायोजित रुपमा पार्टीलाई विवादित र कमजोर बनाउने उद्देश्यले भइरहेका प्रचारबाजीबाट प्रभावित नहुन सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अनुरोध छ ।



तपाईको प्रतिक्रिया दिनुहोस