वाम एकता होइन, एमाले नै बलियो बनाउनुपर्छ : सुरेन्द्र पाण्डे
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र केही नेताहरूले ‘वाम एकता’ को नाममा फेरि दौडधुप गरिरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेतृत्वमाथि संकट आएको भन्दै एकताको बहाना बनाइएको टिप्पणी गरेका हुन्।
पाण्डेले विगतमा पद प्राप्तिका लागि गरिएको एकता अहिले गुम्दो अस्तित्व जोगाउने प्रयासका रूपमा दोहोरिन लागेको बताएका छन्। ‘हाम्रा कतिपय कमरेडहरू नेतृत्वमाथि संकट आइलाग्यो भन्दै फेरि पनि वाम एकताको दौडधुपमा हुनुहुन्छ। हिजो पद प्राप्तिका लागि एकता गरियो, आज सायद आफ्नो गुम्दो अस्तित्व जोगाउन लागिपरेका भन्दै उनले प्रश्न उठाएका छन् उनले भने "पार्टी एकता स्पष्ट विचार र सिद्धान्तका लागि गर्ने कि केही सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि?"
उनका अनुसार एमाले आफैंमा बलियो र ऐतिहासिक विरासत बोकेको पार्टी भएकाले केवल तात्कालिक राजनीतिक लाभका आधारमा निर्णय गर्नु उचित नहुने बताए। दीर्घकालीन रूपमा पार्टीलाई कसरी सशक्त र एकताबद्ध बनाउने भन्नेमा ध्यान दिनुपर्ने उनको धारणा छ। उनले विचार र निश्चित गन्तव्यबिना हुने एकताले अन्ततः पार्टीका मूल्य र मान्यतालाई कमजोर बनाउने चेतावनी दिएका छन्।
पाण्डेले अहिलेको आवश्यकता पार्टीको पुनर्निर्माण भएको उल्लेख गर्दै क्षमतावान र दक्ष व्यक्तिहरू, विशेषगरी युवालाई पार्टीमा आकर्षित गर्नुपर्नेमा जोड दिएका छन्। यस्तो नगरे पार्टी अझ साँघुरिँदै जाने उनको भनाइ छ।
विगतमा वैचारिक आधारबिना गरिएको एकताको तीतो परिणाम हामीले भोगिसकेका छौँ। हिजो मौन बस्नु हाम्रो गल्ती थियो, तर आज पनि नबोल्नु गम्भीर मूर्खता हुने उनले बताएका छन्। साथै, उनले एमाले अब सत्ता र स्वार्थको जोडघटाउभन्दा बाहिर निस्केर विधि, सुशासन र परिणाममुखी नेतृत्वतर्फ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस