खड्कामाथि अनुशासनको डण्डा, कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज (सोमबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको सचिव दिनेश थापामगरले जानकारी दिएका छन्।
समितिले यसअघि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको थियो। बैठकअघि आइतबार सभापति गगन थापाले खड्कासँग भेटवार्ता गरेका थिए। अनुशासनको प्रक्रिया अघि बढिरहेका बेला भएको यो भेटलाई पार्टीभित्रको बेमेल अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ।
केन्द्रीय सदस्य तारामान गुरुङ संयोजक रहेको समितिले वैशाख २ गते खड्काले नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। समितिको निर्णयमा खड्काको उक्त कदम पार्टी विधान विपरीत रहेको उल्लेख गर्दै नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा ८(घ) अनुसार सात दिनभित्र जवाफ दिन निर्देशन दिइएको छ।
तोकिएको समयभित्र स्पष्टीकरण नबुझाएमा विधानअनुसार कारबाही प्रक्रिया अघि बढाइने संयोजक गुरुङले बताएका छन्।
यसअघि खड्काले चैत १४ गते कार्यवाहक सभापतिको हैसियतमा पार्टी लेटरप्याडमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ प्रकरणप्रति आपत्ति जनाएका थिए। साथै चैत १७ गते उनले सोही हैसियतमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस