Techie IT
२०८३ वैशाख २०, आइतबार

सुकुम्बासी हटाउने पार्टी रास्वपाका सांसदकै घर ऐलानी जग्गामा


ऐलानी जग्गामा बनेको सांसद केपी खनालको घर

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले देशभर सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने अभियान अघि बढाइरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालको घर पनि ऐलानी जग्गामा बनेको तथ्य सार्वजनिक भएको छ।

कैलालीको लम्कीचुहास्थित उनको घर ऐलानी जग्गामा रहेको चर्चा बढेपछि गरिएको कुराकानीमा खनालले आफ्नो परिवार लामो समयदेखि त्यहीँ बसोबास गर्दै आएको स्पष्ट पारेका छन् । उनले नदी किनार वा सार्वजनिक जग्गा अतिक्रमण नगरेको दाबी गर्दै लालपुर्जा भने नभएको स्वीकार गरे।

‘लम्कीचुहा नगरपालिकामा मात्रै १६ हजार ५ सय परिवार ऐलानी जग्गामा बस्छन्,’ उनले भने - “हामीले खोला अतिक्रमण गरेका छैनौं। तराईका धेरै परिवारजस्तै हामी पनि ऐलानी जग्गामै बस्दै आएका हौं।”

काठमाडौं उपत्यकाका नदी किनारमा रहेका बस्तीमा डोजर चलाइएपछि खनालको घरबारे पनि प्रश्न उठेको हो। यस सन्दर्भमा उनले विगतमा भूमि आयोगमार्फत लालपुर्जा दिने आश्वासन पटक–पटक दिइए पनि कार्यान्वयन नभएको गुनासो गरे।

आफूमाथि सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लगाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले आफू ऐलानी जग्गामा बस्ने धेरै परिवारको प्रतिनिधि भएको दाबी गरे। लम्की क्षेत्रका करिब ५० प्रतिशत बासिन्दा यस्तै जग्गामा बसोबास गर्ने उनले बताए।

उनका अनुसार सानैदेखि त्यहीँ बसोबास गर्दै आएको परिवारले कर तिर्दै आएको छ, पक्की घर निर्माण भएका छन् र आधारभूत पूर्वाधारसमेत विकास भइसकेको छ। उनले ऐलानी जग्गामा बस्ने नागरिकलाई नम्बरी जग्गा उपलब्ध गराउनुपर्ने माग पनि राखे।

खनालले २०७६ सालमा गठन भएको भूमि समस्या समाधान आयोगले आफ्नो परिवारको विवरण संकलन गरिसकेको उल्लेख गर्दै अघिल्ला सरकारहरूले समस्या समाधान नगरेको आरोप लगाएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट