परराष्ट्रमन्त्री खनालद्वारा ब्रिटिश गोर्खाको समस्या तत्काल सुल्झाउन बेलायती मन्त्रीसँग आग्रह
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य (बेलायत) की इन्डो–प्यासिफिक तथा समानता मन्त्री सीमा मल्होत्राबीच द्विपक्षीय भेटवार्ता भएको छ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको उक्त भेटघाटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धका विविध पक्षमा समीक्षा हुनुका साथै नेपाल–बेलायत सम्बन्धलाई समयानुकूल 'आधुनिकीकरण' गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ। मन्त्रालयका अनुसार बैठकमा विशेष गरी लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु परिवर्तन र डिजिटल प्रविधिका क्षेत्रमा आपसी सहकार्यलाई थप विस्तार गर्ने विषयमा गहन छलफल भएको थियो।
पूर्व ब्रिटिश गोर्खाको मुद्दामा नेपालको कडा अडान
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले पूर्व ब्रिटिश गोर्खा सैनिकहरूका दशकौँदेखि थाती रहेका चिन्ता र गुनासोहरूलाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्री मल्होत्राको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री मल्होत्राले बेलायत सरकार पूर्व ब्रिटिश गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरेकी छिन्।
बेलायती मन्त्री मल्होत्रा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार नै नेपाल आइपुगेकी हुन्। भ्रमणका क्रममा उनले नेपाल सरकारका अन्य मन्त्रीहरूसँग पनि उच्चस्तरीय भेटघाट गर्ने र ऐतिहासिक क्षेत्र लुम्बिनी तथा कपिलवस्तुको भ्रमण गर्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस