Techie IT
२०८३ जेष्ठ १६, शनिबार

पार्टी छाडेको पाँचौँ दिनमा एमाले नेता अरगरियालाई 'मिसन जागरण' धनुषाको कमाण्ड


नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा गरेको अवस्थामा पनि एमालेले उनलाई महत्त्वपूर्ण विभागीय जिम्मेवारी सुम्पेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी 'अन्तरपार्टी निर्देशन' (अपानि) मा अरगरियालाई केन्द्रीय सदस्यकै हैसियतमा ‘मिसन पार्टी जागरण धनुषा’ को संयोजक तोकिएको हो।

पार्टीभित्र चरम गुटबन्दी बढेको र नेतृत्व तहबाट आफ्ना गुनासाहरूको सुनुवाइ नभएको भन्दै नेता अरगरियाले गत आइतबार मात्रै एमाले परित्यागको घोषणा गरेका थिए। तर, उनले औपचारिक रूपमा पार्टी छाडेको पाँचौँ दिनमा अध्यक्ष ओलीले पठाएको जिम्मेवारी बाँडफाँडको सूचीमा उनको नाम समावेश हुनुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

२०७९ असोज ८ गते तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी अरगरिया एमाले प्रवेश गरेका थिए। उनलाई एमाले भित्र्याउन नेता महेश बस्नेतले मुख्य भूमिका खेलेका थिए। मधेशको बलियो खम्बा मानिएका अरगरियालाई एमालेले प्रवेश लगत्तै केन्द्रीय सदस्यको जिम्मेवारी दिए पनि पछिल्लो समय उचित सांगठनिक जिम्मेवारी नपाएको भन्दै उनी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए। 

लोसपा छाडेर एमालेमा आएपछि चुनावी मोर्चामा भने उनले निरन्तर धक्का बेहोरेका थिए । उनि २०७९ को निर्वाचनमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने पनि पराजित भएका थिए । २०८२ को निर्वाचनमा सोही क्षेत्रबाट पुनः चुनावी मैदानमा उत्रिए पनि दोस्रो पटक पराजय भोग्नु पर्‍यो । मधेस केन्द्रित राजनीतिबाट मूलधारको कम्युनिष्ट पार्टीमा आए पनि लगातारको चुनावी असफलता र पार्टीभित्रको आन्तरिक समीकरणका कारण उनी पछिल्लो समय विरक्तिएका थिए।

आफूले पार्टी नै छाडिसकेको घोषणा गरिसकेका बेला एमालेले उनलाई जिल्ला कमाण्डर (संयोजक) को जिम्मेवारी दिएपछि धनुषाको एमाले राजनीति तरंगित बनेको छ। 

पार्टी नेतृत्वले असन्तुष्ट नेता अरगरियालाई थमथमाउन र मधेशमा पार्टीको पकड कमजोर हुन नदिन यो रणनीति अपनाएको अनुमान गरिएको छ। यद्यपि, एमालेको यो पछिल्लो 'अपानि' र नयाँ जिम्मेवारीमाथि नेता अरगरियाको आधिकारिक धारणा भने आउन बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट