Techie IT
२०८३ असोज १०, शनिबार

प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले नेपालको सार्वभौमिकतामाथि नै प्रहार भयो: कांग्रेस


नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसद्‌मा सीमाबारे दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा बाहिरको संज्ञा दिएको छ।

आइतबार कांग्रेस प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा, प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भनी दिएको बयानले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्थापित अन्तर्राष्ट्रिय अडानलाई गम्भीर रूपमा कमजोर बनाएको दाबी गरिएको छ।

कांग्रेसले नेपालको संवैधानिक नक्सा र ऐतिहासिक तथ्यहरूलाई बेवास्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभागमाथिको नेपालको बलियो दाबीलाई अवमूल्यन गर्ने गरी सरकार प्रमुखबाटै यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद र आपत्तिजनक भएको उल्लेख गरेको छ।

"संसद्‌मा सरकार प्रमुखले बोल्ने प्रत्येक शब्द राज्यको आधिकारिक धारणा मानिन्छ। तसर्थ, प्रधानमन्त्रीको यो गैरजिम्मेवार भनाइबारे सरकारले तुरुन्तै आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्छ," विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्री शाहले सीमा समस्या समाधानका लागि बेलायतसँग पनि संवाद भइरहेको भनी संसद्‌मा गरेको दाबीलाई कांग्रेसले 'थप भ्रमपूर्ण र आपत्तिजनक' भनेको छ। स्थापित कूटनीतिक संयन्त्र र द्विपक्षीय संवादको स्थापित मर्यादालाई लत्याएर मनलाग्दी बोल्दा नेपालको अन्तर्राष्ट्रिय छवि र कूटनीतिक विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठेको कांग्रेसको ठहर छ।

कांग्रेसको माग

स्पष्टीकरणको माग: प्रधानमन्त्री शाह र वर्तमान सरकारले उक्त राष्ट्रघाती अभिव्यक्तिबारे संसद् र आम नेपाली जनतासमक्ष तत्काल माफीसहित स्पष्टीकरण दिनुपर्ने।

संवादबाट समाधान: सीमा समस्यालाई ऐतिहासिक तथ्य, सन्धि, प्रमाण र जिम्मेवार कूटनीतिक वार्ताका माध्यमबाट मात्र समाधान गरिनुपर्ने।

छिमेकी राष्ट्रहरूसँगको ऐतिहासिक र आत्मीय सम्बन्धलाई असर नपुग्ने गरी आपसी समझदारीका आधारमा सीमा विवाद सुल्झाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ। प्रधानमन्त्रीको उक्त गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका कारण मुलुकको कूटनीतिक साख गिरेको भन्दै कांग्रेसले उक्त भनाइप्रति घोर खेद व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट