रास्वपा सभापतिको भारत भ्रमण अघि प्रधानमन्त्रीको भारतप्रस्त बयान आउनु संशयपूर्ण: कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष घिसिङले प्रधानमन्त्रीको उक्त भनाइ राष्ट्रियहित अनुकूल नरहेको र यसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो दाबीलाई गम्भीर रूपमा कमजोर बनाउने दाबी गरेका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले “भारतले नेपालको भूमि मिचिरहेको मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले हालसालै थाहा पाएको” भनी सनसनीपूर्ण अभिव्यक्ति दिएका थिए।
उक्त बयानलाई अत्यन्त गम्भीर र संवेदनशील भन्दै घिसिङले सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसद्जस्तो सर्वोच्च लोकतान्त्रिक मञ्चबाट यस्तो प्रमाणहीन र गैरजिम्मेवार टिप्पणी गर्न नहुने बताएका छन्।
"नेपाल र भारतबिचको सीमा विवाद कुनै नयाँ विषय होइन। नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्ताबेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको सन्दर्भमा प्रधानमन्त्रीको यो बयान प्रत्युत्पादक र आत्मघाती छ," घिसिङले उल्लेख गरेका छन्।
विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा, सोही पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्रीको तर्फबाट यस्तो आत्मसमर्पणवादी अभिव्यक्ति आउनुले थप संशय र गम्भीर प्रश्नहरू जन्माएको घिसिङले बताएका छन्। उनले प्रधानमन्त्री शाहलाई आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य सार्वजनिक गर्दै देश र जनतासमक्ष तत्काल स्पष्टीकरण दिन माग गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस