Techie IT
२०८३ जेष्ठ १८, सोमबार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विप्लव आक्रोशित, माफी माग्नुपर्ने माग


नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिको कडा विरोध गरेका छन्। उनले उक्त अभिव्यक्तिलाई असहनीय, निन्दनीय र गैरजिम्मेवार टिप्पणीको संज्ञा दिएका छन्।

प्रधानमन्त्रीले संसदमा नेपाल–भारत सीमा विवादका विषयमा ‘भारतले पनि मिचेको छ, नेपालले पनि मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै विप्लवले त्यसप्रति गम्भीर आपत्ति जनाएका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले नेपाल–भारत सीमा विवाद दुवै देशको समान कमजोरीको परिणाम नभई भारतले लामो समयदेखि नेपाली भूमि अतिक्रमण गर्दै आएको विषय भएको दाबी गरे। उनका अनुसार कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ता, महेशपुरलगायत ६४ भन्दा बढी स्थानमा भारतीय अतिक्रमणबारे विज्ञ तथा राष्ट्रवादी शक्तिहरूले निरन्तर आवाज उठाउँदै आएका छन्।

“राष्ट्रको यति संवेदनशील विषयलाई हल्का ढंगले प्रस्तुत गर्नु जनताको भावना र राष्ट्रिय स्वाभिमानमाथिको प्रहार हो,” विप्लवले भने, “यो कुनै पनि हालतमा स्वीकार्य विषय होइन।”

उनले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट यस्तो अभिव्यक्ति दिँदा पनि सांसदहरूले प्रभावकारी प्रतिवाद नगरेको भन्दै संघीय संसद्को भूमिकामाथि समेत प्रश्न उठाएका छन्। सीमा र राष्ट्रिय स्वाधीनताजस्तो विषयमा संसद दब्बु, बोधो र हल्का देखिएको उनको टिप्पणी छ।

विप्लवले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे देशवासीसमक्ष स्पष्ट जवाफ दिनुपर्ने र सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। साथै, यस्तो धारणा राख्ने व्यक्ति प्रधानमन्त्री पदका लागि उपयुक्त हो कि होइन भन्ने बहससमेत सुरु भएको उनको भनाइ छ।

राष्ट्रिय स्वाधीनता र सीमाको विषयलाई लिएर आफ्नो पार्टी छिट्टै संघर्षका कार्यक्रमसहित प्रतिरोधमा उत्रिने चेतावनी दिँदै उनले देशभक्त राजनीतिक शक्ति, विभिन्न संघसंस्था तथा नागरिक समाजलाई एकजुट हुन आह्वान गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट