सर्वदलीय बैठकमा भयो हंगामा, लामिछानेको भनाइप्रति लिङ्देनको कडा आपत्ति
संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दलका नेताहरूको अभिव्यक्तिलाई लिएर प्रतिपक्षले कडा प्रश्न उठाएको छ। सरकार र सत्ता साझेदार दलका अभिव्यक्तिहरू गैरजिम्मेवार भएको भन्दै विपक्षी नेताहरूले बैठकमा तीव्र असन्तुष्टि जनाएका हुन्।
सर्वदलीय छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले संसद्मा गणितीय रूपमा कमजोर रहेको भन्दै प्रतिपक्षलाई नपेल्न सरकारलाई चेतावनी दिएको बताए। प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै लिङ्देनले भने, "चुनाव जितेको सरकारले आफ्नो नीति र कार्यक्रम अगाडि बढाउने अधिकार राख्छ। तर, प्रतिपक्ष गणितमा कमजोर छ र हामी विकल्पहीन छौँ भन्दैमा संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त भत्काउने काम नहोस्। सरकारको हालैका कदमले राम्रो संकेत गरेका छैनन्। देश चुनाव जित्नेको मात्रै होइन, हार्नेको पनि हो भनेर हामीले सजग गराएका छौँ।" सरकारको गलत कदमको मूल्य सिंगो देशले चुकाउनुपर्ने उनले उल्लेख गरे।
बैठकमा विपक्षी दलहरूले सीमाको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र रास्वपा सभापति लामिछानेले भारत भ्रमणका क्रममा दिएको भनाइप्रति गम्भीर ध्यानाकर्षण गराएका थिए। लामिछानेले ‘हामी विगतको भारी बोक्दैनौँ’ भनी दिएको अभिव्यक्तिप्रति प्रतिपक्षले तीव्र आपत्ति जनाएको छ।
"विगतको भारी बोक्दैनौँ भन्नुको अर्थ धेरै लाग्छ। के यसको अर्थ विगतमा भएका सबै राम्रा र ऐतिहासिक कामहरू गलत थिए भन्ने हो?" लिङ्देनले प्रश्न गरे, "हामीले संसद्बाट सर्वसम्मतिले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा पारित गरेर संविधानको अनुसूचीमा समावेश गरिसकेका छौँ। कतै त्यो ऐतिहासिक तथ्य र प्रमाणको भारी पनि बोक्दैनौँ भन्न खोजिएको त होइन? वैदेशिक र कूटनीतिक मामिलामा संवेदनशीलता अपनाइयोस्।"



तपाईको प्रतिक्रिया दिनुहोस