रास्वपा महाधिवेशनमा चरम भद्रगोल, प्रतिनिधिहरू आक्रोशित
नेतृत्व चयनको प्रक्रिया सुरु नहुँदै करिब २५ प्रतिशत प्रतिनिधि घर फर्किसके
चितवन। सुसंस्कृत राजनीतिको नारा दिएर उदाएको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण पूर्ण रूपमा भद्रगोल बन्न पुगेको छ। कार्यतालिका अनुसार बुधबारसम्ममा सम्पूर्ण प्रक्रिया सकिनुपर्ने भए पनि चौथो पटकसम्म निर्वाचन तालिका संशोधन हुँदा समेत मतदान सुरु हुन सकेको छैन।
असार ७ गते आइतबार जिल्ला प्रहरी कार्यालय अगाडिको गेस्ट हाउस चौरमा भव्य रूपमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भने निकै भद्रगोल देखियो। सोमबार बिहान ८:३० बजे सुरु हुने भनिएको बन्दसत्र मधेश प्रदेश लगायत अन्य केही स्थानको मतदाता नामावली टुङ्ग्याउन नसक्दा डेढ दिन पछि धकेलिएको छ ।
महाधिवेशन लम्बिएपछि देश-विदेशबाट आएका प्रतिनिधिहरू चर्को गर्मीमा अलपत्र परेका छन्। प्रतिनिधि छनोट, परिचयपत्र वितरण, नामावली अद्यावधिक र उम्मेदवारी दर्ता जस्ता आधारभूत विषयमै नेतृत्वको अपरिपक्वता छताछुल्ल भएको छ। चार दिनको मात्र बन्दोबस्त गरेर आएका प्रतिनिधिहरूको आक्रोश चितवनको गर्मीभन्दा बढी देखिन्छ। नेतृत्व चयनको प्रक्रिया सुरु नहुँदै करिब २५ प्रतिशत प्रतिनिधि घर फर्किसकेका छन्।
प्रतिनिधिहरु आक्रोसित हुदै "यस्तो पनि पार्टी हुन्छ? न नेता चिनेको छ, न कसैको फोन उठ्छ! हाम्रा समस्या कसलाई सुनाउने?" भनेर प्रश्न गरिरहेका छन् तर, उत्तर दिने कोहि छैन ।
महाधिवेशन दुई दिन लम्बिँदा आयोजकलाई करिब दुई करोड रुपैयाँ थप आर्थिक भार पर्ने देखिएको छ। प्रतिनिधिहरूको बढ्दो खर्च र सास्तीलाई मध्यनजर गर्दै सभापति रवि लामिछानेले आर्थिक रूपमा अप्ठ्यारो पर्नेलाई प्रतिनिधि दस्तुर बापतको ५ हजार रुपैयाँ फिर्ता लिन सकिने घोषणा समेत गरेका छन्।
३५ वर्षदेखिको बेथिति र भ्रष्टाचार अन्त्य गर्ने उद्घोष गरेको रास्वपा नेतृत्वको अक्षमता आफ्नै पहिलो महाधिवेशनको जगमा उदाङ्गो भएको सहभागीहरूले टिप्पणी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस