Techie IT
२०८३ असार ११, बिहीबार

सरकारकै हस्तक्षेपले एन्फामाथि फिफाको प्रतिबन्ध लाग्यो - प्रमुख सचेतक महर


काठमाडौं । नेकपा (एमाले)का युवा नेता तथा प्रतिनिधिसभाका प्रमुख सचेतक ऐन महरले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले लगाएको प्रतिबन्धका लागि सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महरले सरकारको हस्तक्षेपकै कारण नेपाली फुटबलको सर्वोच्च संस्था एन्फाले अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध भोग्नुपरेको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, “नेपाल सरकारको बहुमूल्य उपहार! सरकारको हस्तक्षेपका कारणले फिफाले नेपाली फुटबलको नेतृत्वदायी संगठन एन्फालाई अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ।”

महरले विश्वकपको माहोल चलिरहेका बेला आएको फिफाको निर्णयले नेपाली फुटबलप्रेमीलाई निराश बनाएको उल्लेख गरेका छन्। उनले सरकारको रवैया र गैरजिम्मेवारपनले नेपाली फुटबललाई गम्भीर क्षति पुर्‍याएको दाबी गरेका छन्।

“विश्वकपको माहोल चलिरहेको बेलामा फिफाको यस्तो निर्णय र सरकारको यसप्रकारको रवैया तथा गैरजिम्मेवारपनले नेपाली फुटबलप्रेमीलाई निराश बनाएको छ,” उनले लेखेका छन्।

फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष निकाल्दै एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको छ। प्रतिबन्धसँगै नेपाली राष्ट्रिय टोली तथा क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट