Techie IT
२०८३ असार १६, मंगलबार

विप्लवलाई कास्कीमा ठूलो झट्का, ३८ नेता–कार्यकर्ताद्वारा सामूहिक पार्टी परित्याग


नेत्रविक्रम चन्द ‘विप्लव’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कास्कीका ३८ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्।

मंगलबार जारी संयुक्त विज्ञप्तिमा उनीहरूले करिब १३ वर्षदेखि पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरेको, जेल–हिरासतदेखि सडक आन्दोलनसम्म सक्रिय भूमिका खेलेको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थिति, पार्टीको कार्यदिशा र नेतृत्वप्रति गम्भीर असन्तुष्टि जनाएका छन्।

उनीहरूका अनुसार विगत १३ वर्षमा पार्टीले अपेक्षित राजनीतिक उपलब्धि हासिल गर्न सकेन। रणनीतिक संयुक्त मोर्चा तथा समाजवादी मोर्चामार्फत वाम शक्तिबीच सहकार्यको प्रयास भए पनि त्यसले कुनै ठोस परिणाम दिन नसकेको र अन्ततः पार्टी ती मोर्चाबाट समेत बाहिरिएको उनीहरूको दाबी छ।

विज्ञप्तिमा नेपालको वाम आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको उल्लेख गर्दै कम्युनिस्ट शक्तिबीच एकता, सहकार्य र पुनर्गठन अपरिहार्य भइसकेको बताइएको छ। तर पार्टी नेतृत्वले एकता र पुनर्गठनको बहस उठाउने नेताहरूप्रति पूर्वाग्रहपूर्ण व्यवहार गरेको, फरक मतलाई निरुत्साहित गरेको तथा बहसबाट पन्छिने प्रवृत्ति अपनाएको आरोप उनीहरूले लगाएका छन्।

उनीहरूले केन्द्रीय सचिवालय सदस्य उमा भूजेल र पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का ‘असल’माथि गरिएको कारबाहीलाई नेतृत्वको असहिष्णुताको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट