Techie IT
२०८३ असार १९, शुक्रबार

बझाङका भट्टको हत्या छानबिन गर्न एमाले प्रमुख सचेतक महरको माग


भारतको कर्नाटक राज्यस्थित बेंगलुरुमा कार्यरत बझाङका विजयराज भट्टको शङ्कास्पद मृत्युको घटनामा नेकपा (एमाले) ले गम्भीर आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आज शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंहदरबारमा ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन नेपाल सरकारसँग तत्काल कूटनीतिक पहलको माग गरेका हुन्।

बझाङको केदारस्युँ गाउँपालिका–४ का स्थायी बासिन्दा विजयराज भट्टको बेंगलुरुस्थित चन्दापुर अपार्टमेन्टमा सुरक्षा विभागका प्रबन्ध निर्देशक (एमडी) को कुटपिटबाट मृत्यु भएको ज्ञापनपत्रमा उल्लेख छ। प्रमुख सचेतक महरले यो घटनाको सत्यतथ्य अनुसन्धान, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद थाल्न आग्रह गरेका थिए । उनले यसअघि नै यो विषय प्रतिनिधिसभा बैठकमा समेत उठाइसकेको स्मरण गराउँदै मृतक भट्टप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् ।

ज्ञापनपत्रमार्फत प्रमुख सचेतक महरले दक्षिण भारतमा रहेका लाखौँ नेपालीहरूको सुरक्षा र कूटनीतिक संरक्षणको सवालमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। दक्षिण भारतमा लाखौँ नेपाली श्रमिक, विद्यार्थी र व्यवसायीहरू बसोबास गर्दै आएका छन्। तर, त्यहाँ नेपाल सरकारको स्थायी कूटनीतिक नियोग नहुँदा राहदानी नवीकरण, कानुनी सहायता, दुर्घटना तथा मृत्युजस्ता सङ्कटका बेला नेपालीहरूले ठूलो सास्ती खेप्नु परिरहेको प्रमुख सचेतक महरले बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट