प्रधानमन्त्रीको 'स्ट्याटस' पढेर नेता पुनको प्रश्न, आत्मदाह राज्यको चरम असफलता हो कि होइन?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर सरकारसँग जवाफ माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्री बालेन शाहकै एउटा पुरानो फेसबुक स्ट्याटस संसद्मा पढेर सुनाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
वि.सं. २०७९ माघ १० गते इलामका युवा कृषक प्रेम प्रसाद आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा भावुक र आक्रोशित पोस्ट गरेका थिए । सांसद पुनले प्रधानमन्त्री शाहको त्यही '२६ जनवरी २०२३' को पोस्ट संसद्मा उद्धृत गरे ।
बालेनको पुरानो स्ट्याटस उद्धृत गर्दै पुनले रोष्ट्रमबाट भने - "गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ, म उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्छु । यो सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको सम्माननीय प्रधानमन्त्रीज्यूको एउटा स्ट्याटस छोटोमा उद्धृत गर्न चाहन्छु– 'एक जना नागरिक आफूले देखेको प्रगतिको चाहनाका लागि सक्दो कर्म गर्छन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एक जना नागरिक संसद् भवन अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण, धेरै संकेतहरू होलान् । तर, सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलता हो ।' "
प्रधानमन्त्रीकै विगतको भनाइलाई आधार बनाउँदै सांसद पुनले अहिलेको घटनामा सरकारको धारणा के हो भनी प्रश्न गरे । "गणेश नेपालीको आत्मदाह प्रकरणबारे पनि प्रधानमन्त्रीज्यूको त्यही धारणा छ कि परिवर्तन भयो ? के यो पनि राज्यको असफलता हो ?" पुनले प्रश्न गरे ।
नयाँ जनमत र ठूलो विश्वासका साथ प्रधानमन्त्री सत्तामा आएको उल्लेख गर्दै पुनले थपे, "के यो राज्यको असफलता हो ? या गरिब, दुःखी, सुकुम्बासीहरू संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरिखान पाउँदैनन् भन्ने संकेत हो ? सरकारको यसमा गम्भीर ध्यान जाओस् र म संसद्मा यसको जवाफ चाहन्छु । हिजो नागरिक हुँदाको त्यही दृष्टिकोण आज सत्तामा गइसकेपछि पनि कायम छ कि बदलियो ?"



तपाईको प्रतिक्रिया दिनुहोस