चर्का भाषण र सस्तो लोकप्रियताले देश बदलिँदैन — महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश परिवर्तन गर्ने दाबी गर्ने शक्तिहरूमाथि तीव्र कटाक्ष गरेका छन्। उनले स्पष्ट वैचारिक आधार, दीर्घकालीन योजना र निरन्तर समर्पणबाट मात्रै मुलुकको रूपान्तरण सम्भव हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले मुलुकको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मा आफैंभित्रका कमजोरी र आचरण सुधार्न नसकेको नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको टिप्पणी गरेका छन्।
उनले चर्का भाषण गर्नेहरूको व्यवहार र कार्यशैली नै विरोधाभासपूर्ण रहेको दाबी गर्दै यस्ता प्रवृत्तिबाट देश रूपान्तरण सम्भव नहुने कटु यथार्थ अहिले स्पष्ट भइसकेको उल्लेख गरेका छन्।
पोखरेलले विगतमा देशमा केही पनि भएको थिएन भन्ने भाष्यलाई अस्वीकार गर्दै पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले वस्तु तथा सेवामा नागरिकको पहुँच उल्लेखनीय रूपमा बढाएको बताए। तर, त्यसअनुसार नागरिकको वैधानिक आय वृद्धि हुन नसक्दा अपेक्षा र आम्दानीबीच ठूलो असन्तुलन सिर्जना भएको उनको भनाइ छ।
उनका अनुसार यही असन्तुलनले वैध–अवैध जुनसुकै माध्यमबाट आर्थिक लाभ लिन खोज्ने प्रवृत्ति बढाएको छ। त्यसको परिणामस्वरूप समाजमा भ्रष्टीकरण, अपराधीकरण, सामाजिक अराजकता, पैतृक सम्पत्तिको तीव्र क्षयीकरण तथा वैदेशिक पलायनजस्ता गम्भीर समस्या बढ्दै गएको उनले विश्लेषण गरेका छन्।
महासचिव पोखरेलले यस्ता संरचनागत समस्याबाट उत्पन्न जनअसन्तोषलाई सामाजिक सञ्जाल र पपुलिस्ट राजनीतिमार्फत राज्य तथा राजनीतिक दलविरुद्ध प्रयोग गर्न केही शक्तिहरू सफल भएको दाबी गरेका छन्।
उनले यस्ता गम्भीर राष्ट्रिय चुनौतीको समाधान क्षणिक उत्तेजना, चर्का भाषण वा पपुलिजमबाट सम्भव नहुने स्पष्ट पार्दै वैचारिक स्पष्टता, राजनीतिक इमानदारी र दीर्घकालीन दृष्टिकोणबाट मात्रै मुलुकलाई सही दिशामा अघि बढाउन सकिने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस