Techie IT
२०८३ श्रावण ७, बिहीबार

कम्युनिस्ट संस्थापक पुष्पलालको ४८औँ स्मृति दिवस आज, यस्तो छ उनको योगदान र इतिहास


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज (साउन ७ गते) देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

नेकपा (एमाले),  नेपाली कम्युनिष्ट पार्टी लगायत विभिन्न कम्युनिस्ट घटकहरूले उनको योगदानको स्मरण गर्दै विविध कार्यक्रमको आयोजना गरेका छन्।

विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल शहीद गङ्गालाल श्रेष्ठका भाइ हुन्। नेपालमा निरंकुश जहानियाँ राणाशासन र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा उनले अग्रणी भूमिका निर्वाह गरेका थिए।

पुष्पलालको ऐतिहासिक योगदान
नेकपाको स्थापना: विसं २००६ वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना गरेका थिए।

कम्युनिस्ट मेनिफेस्टोको अनुवाद: कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा लिखित प्रसिद्ध ‘कम्युनिस्ट मेनिफेस्टो’ लाई पहिलोपटक नेपाली भाषामा अनुवाद गर्ने श्रेय पुष्पलाललाई नै जान्छ। उनले आफ्ना विभिन्न कृति र लेखहरूमार्फत नेपाली समाजको गहन वर्ग विश्लेषण प्रस्तुत गरेका थिए।

प्रजातान्त्रिक सङ्घ गठन: नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर 'नेपाली प्रजातान्त्रिक सङ्घ' गठन गरेका थिए।

संयुक्त जनआन्दोलनको दिशा: निरंकुश पञ्चायती व्यवस्था ढाल्नका लागि नेपाली कांग्रेसलगायतका प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर 'संयुक्त जनआन्दोलन' गर्नुपर्छ भन्ने स्पष्ट विचार अघि सार्ने पहिलो नेता उनी नै थिए। पछि २०४६ सालको आन्दोलन यही नीतिमा आधारित भएर सफल भएको थियो।

प्रवासमा बसेरै नेकपाका गतिविधिहरूलाई उचाइमा पुर्‍याएका नेता पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।

स्मृति दिवसको अवसरमा आज नेकपा (एमाले) को उपत्यका प्रदेश कमिटी, विभिन्न कम्युनिस्ट पार्टी तथा शुभेच्छुक संस्थाहरूले चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानलगायत देशका विभिन्न स्थानमा विचार गोष्ठी, श्रद्धाञ्जली र विचार-विमर्श कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट