रास्वपा केन्द्रीय समिति बैठक: ७ सदस्यीय सचिवालय गठन, गुटबन्दी खारेज गर्न रविको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको केन्द्रीय समिति बैठकले महत्वपूर्ण साङ्गठनिक निर्णयहरू गर्नुका साथै भर्खरै सम्पन्न महाधिवेशन र विधान परिमार्जनका विषयमा उठेका प्रश्नहरूमाथि समीक्षा गरेको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्ति अनुसार बैठकले दैनिक कार्य सञ्चालनका लागि सात सदस्यीय सचिवालय गठन गरेको छ। सचिवालयमा सभापति रवि लामिछाने, उपसभापति द्वय डा. स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिन आचार्य तथा उपमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी रहेका छन्।
यस्तै, बालेन्द्र (बालेन) शाहलाई वरिष्ठ नेतामा मनोनयन गरेको छ । साङ्गठनिक दस्तावेज पारित गर्ने र विभागीय नेतृत्वका लागि ६ महिनाको कार्ययोजना माग गर्ने निर्णय बैठकले गरेको छ। आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने, नागरिक सहजीकरण संयन्त्रलाई थप प्रभावकारी बनाउने र सरकारमा सहभागी मन्त्रीहरूसँग महिनामा कम्तीमा एक पटक प्रत्यक्ष संवाद गर्ने निर्णय पनि भएको छ।
बैठकमा सभापति रवि लामिछानेले महाधिवेशनपछि पार्टीभित्र कुनै गुट-उपगुट नरहेको स्पष्ट पार्दै गुटगत भाष्य सिर्जना नगर्न कडा निर्देशन दिएका थिए । ५१ जना पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनीत गर्ने विषयमा वरिष्ठ नेता बालेन शाहसँग छलफल भइरहेको र आगामी १५ दिनभित्र चरणबद्ध रूपमा मनोनयन गरिने उनले जानकारी दिए। "पाँच वर्षसम्म बालेनजी नै हाम्रो प्रधानमन्त्री हो, यसमा कसैले शंका गर्नु पर्दैन," लामिछानेले भने।
बैठकमा केन्द्रीय सदस्यहरू तोसिमा कार्की र गणेश कार्कीलगायतले महाधिवेशनमा छलफल नै नभएका बुँदाहरू निर्वाचन आयोग र मिडियामा कसरी पुगे भन्दै प्रश्न उठाएका थिए। विशेषगरी 'पार्टी सभापतिको नीति विपरीत काम गरे संसदीय दलको नेता स्वतः पदमुक्त हुने' व्यवस्था कसरी समावेश भयो भन्नेमा उनीहरूले आपत्ति जनाएका थिए ।
साथै, दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिहरूको कम उपस्थिति, मतदान मेसिनमा वर्णानुक्रम पालना नगरिएको, समावेशिता र क्लस्टरको उपेक्षा गरिएको, तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई बेवास्ता गरिएको विषयमा पनि बैठकमा तीव्र बहस भएको थियो। केही नेताहरूले महाधिवेशनका बेला भएका कमजोरी र गुटबन्दीका विषयमा छानबिन तथा समीक्षा हुनुपर्ने माग समेत राखेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस