तराई-मधेशको द्वन्द्वबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न नेकपाको माग
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तराई-मधेशका सुनसरी, सिरहालगायतका क्षेत्रमा हालै भएका हिंसात्मक द्वन्द्वका घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को अध्यक्षता र सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा शुक्रबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले सुनसरी र सिरहाको घटनामा तीन जनाको ज्यान गएको र कैयौँ नागरिक घाइते भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बैठकले तराई-मधेशको असामान्य परिस्थितिलाई सम्बोधन गर्न सरकारले देखाएको उदासीनताप्रति गम्भीर असन्तुष्टि जनाएको छ। प्रवक्ता प्रकाश ज्वालाका अनुसार, सरकार समस्याको राजनीतिक समाधान खोज्नुको सट्टा प्रशासनिक बल र शक्तिको प्रयोगमा बढी केन्द्रित हुनु दुःखद छ। नेकपाले सरकारलाई तत्काल सरोकारवालाहरूसँग संवाद गरी विश्वासको वातावरण बनाउन र समस्याको दीर्घकालीन राजनीतिक समाधान खोज्न आग्रह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस