Techie IT
२०८३ श्रावण १५, शुक्रबार

समाजमा प्रतिशोध होइन, सहअस्तित्व रोजौँ - महानायक राजेश हमाल


महानायक राजेश हमालले सुनसरीमा हालै घटेको दुःखद घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै देशमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै नेपालीमा विशेष अपिल गरेका छन्।

शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै हमालले नेपाल भौगोलिक विविधताको मात्र नभई साझा भविष्यमा विश्वास गर्ने सबै नेपालीहरूको साझा घर भएको स्मरण गराए। उनले नेपाल केवल हिमाल, पहाड, तराई वा मन्दिर, मस्जिद, चर्च र गुम्बाको मात्र देश नभई यो फरक-फरक विश्वास बोकेका नेपालीहरूको एउटा बलियो संकल्प भएको बताएका छन्।

“यदि हाम्रो आपसी विश्वास र सद्भाव कमजोर भयो भने सम्पूर्ण नेपाली र समग्र राष्ट्र नै कमजोर हुन्छ” हमालले भने।

आगामी पुस्तालाई कस्तो समाज हस्तान्तरण गर्ने भन्ने कुरा आजको हाम्रो व्यवहारले निर्धारण गर्ने बताउँदै उनले भने, "हामी आउँदो पुस्तालाई विश्वासको वातावरण छोड्न चाहन्छौं कि घृणाको? यो छनोट अहिले हाम्रै हातमा छ।"

सुनसरीको घटनाले कुनै एउटा क्षेत्र वा परिवारलाई मात्र नभई सम्पूर्ण राष्ट्रको मन दुखाएको उल्लेख गर्दै हमालले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले कठिन समयमा गरिने निर्णयबाट नै इतिहासमा हाम्रो मूल्याङ्कन हुने भन्दै प्रतिशोधको साटो न्याय र विभाजनको साटो सहअस्तित्वको बाटो रोज्न आम नागरिकमा आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट