प्रधानमन्त्री सचिवालयद्वारा रास्वपा सांसद राजु पाण्डेलाई समाजमा लफडा नगर्न निर्देशन
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले काठमाडौं क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजु पाण्डेलाई बोलाएर सचेत गराएको छ। नेपाली सेनाका एक कप्तानलाई थर्काएको घटना, विवाद र यससम्बन्धी पृष्ठभूमिमाथि गम्भीर बन्दै सचिवालयले पाण्डेलाई यस्तो निर्देशन दिएको हो।
स्रोतका अनुसार सांसद पाण्डे मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका थिए। सो क्रममा सचिवालयका सदस्यहरूले उनलाई प्रधानमन्त्रीको नाम जोडेर कुनै पनि किसिमका विवाद वा लफडा नगर्न कडा निर्देशन दिएका छन्।
गोकर्ण वन क्षेत्रमा रहेको पर्खालमा डोजर चलाउने क्रममा सांसद पाण्डे र नेपाली सेनाका कप्तान अनुपमान श्रेष्ठबीच बाझाबाझ भएको थियो। यस घटनाप्रति प्रधानमन्त्री शाह असन्तुष्ट रहेको बताइएको छ।
प्रधानमन्त्रीको सचिवालयकै कडा निर्देशनानुसार सांसद पाण्डेले पछि स्पष्टीकरण वक्तव्य जारी गरेको स्रोतको दाबी छ। आफ्नो स्पष्टीकरणमा उनले सेनाकै समन्वयमा पर्खालमा डोजर चलाइएको तर्क पेस गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस