शेरबहादुर देउवा
दशौँ हजार समर्थकको उपस्थितिमा बाजागाजासहित देउवाको भव्य स्वागत गरिने
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै छ महिना लामो उपचार तथा बसाइपछि भोलि बिहीबार स्वदेश फर्किंदै छन्। उनको स्वागतका लागि कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहितको भव्य तयारी गरेको छ।
इतर समूहद्वारा राष्ट्रिय भेलाका लागि गठित सांस्कृतिक समितिका संयोजक विद्या तिमिल्सिनाका अनुसार विमानस्थलमा पूर्वसभापति देउवालाई स्वागत गर्न विभिन्न सांस्कृतिक झाँकी र बाजागाजाको व्यवस्था गरिएको छ।
जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी गम्भीर घाइते भएका देउवा उपचारका लागि गत फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर प्रस्थान गरेका थिए। त्यसपश्चात उनी गत चैत ७ गते थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए। लामो समयको उपचार र विश्रामपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन स्वदेश फर्कन लागेका हुन्।
देउवाको स्वागतका लागि देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता काठमाडौं आइपुगेका छन्। नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेशबहादुर चन्दको नेतृत्वमा धनगढीबाट विमानमार्फत र स्वस्फुर्तरुपमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट गाडी रिजर्भ गरेर समर्थकहरू राजधानी आएका छन्। यसअघि धनगढी विमानस्थलमा ‘शेरबहादुर देउवा जिन्दावाद’ का नारासहित देउवालाई स्वागत गर्न एक समुह काठमाडौंतर्फ प्रस्थान गरेको छ ।
स्वदेश फर्किएलगत्तै पूर्वसभापति देउवा इतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलामा सहभागी हुनेछन्। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने उक्त तीनदिने भेलाको उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुने प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस