चार महिनामै हर्क साम्पाङ र सुदन किरातीबीच खटपट, किराती समूहलाई बैठकै बहिस्कार
श्रम संस्कृति पार्टीसँग पूर्वमाओवादी नेता सुदन किरातीले गरेको राजनीतिक एकता चार महिनामै सङ्कटमा परेको छ।
पार्टीका तर्फबाट आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा किराती पक्षधर नेता तथा कार्यकर्ताहरूलाई बेवास्ता गरी नबोलाएपछि दुई नेताबीचको आन्तरिक खटपट सतहमा आएको हो।
यसअघि श्रम संस्कृति पार्टीबाट कोशी प्रदेशको भावी मुख्यमन्त्रीका रूपमा स्वयं पार्टी अध्यक्ष हर्क साम्पाङले सुदन किरातीको प्रचार गरेका थिए। तर, साम्पाङको एकलौटी कार्यशैलीका कारण सुरुदेखिनै दुई पक्षबीच भावनात्मक एकता हुन सकेको थिएन। अध्यक्ष साम्पाङले विगत चार महिनासम्म पार्टीको औपचारिक बैठकसमेत नबोलाई केवल फेसबुक स्ट्याटसका भरमा दल सञ्चालन गर्दै आएको आरोप लागेको छ।
आज आयोजित केन्द्रीय समिति बैठकमा अध्यक्ष साम्पाङले वरिष्ठ नेता किरातीलाई कुनै पनि किसिमको जानकारी वा खबर नगरेको सुदन समूहका एक नेताले बताएका छन्। पछिल्लो समय साम्पाङ र किरातीबीच सामान्य बोलचालसमेत बन्द भएको छ। बैठकमा नबोलाइएपछि पार्टी एकतामा गहिरो दरार उत्पन्न भएको र यसलाई किराती समूहले गम्भीर रूपमा लिएको छ। परिस्थितिको मूल्याङ्कन र भावी रणनीति तय गर्न किरातीले आज आफ्नै समूहको छुट्टै बैठकसमेत बोलाएका छन्।
यता, श्रम संस्कृतिका केही अन्य नेताहरूले भने आजको बैठकले पार्टी एकतालाई औपचारिक रूपमा अनुमोदन गर्ने र भोलि ४१ सदस्यीय पूर्ण केन्द्रीय समितिको बैठक बस्ने दाबी गरेका छन्। तर, यस विषयमा अध्यक्ष साम्पाङले आफूसँग कुनै पनि प्रकारको परामर्श नगरेका कारण नेता किराती अझै पनि आश्वस्त हुन सकेका छैनन्। चुनावका बेला निकै चर्चामा आएको यो सहकार्य नेतृत्वबीचको तालमेल अभावका कारण सुरुमै धरापमा पर्ने देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस