सूचना चुहाउनेलाई गृहमन्त्री गुरुङको कडा चेतावनी
गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट अनाधिकृत रूपमा गोप्य तथा संवेदनशील सूचना चुहाउने जो-कोहीलाई कानूनी दायरामा ल्याउने कडा चेतावनी दिएका छन्।
पदीय हैसियत बिर्सिएर अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि सूक्ष्म ढङ्गले नियालिरहेको उनको भनाइ छ। राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले भनेका छन्, “पदले सूचनामा पहुँच दिन्छ, तर त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई दिँदैन।”
गृह मन्त्रालयले हिजो मात्र सूचना चुहावटको गम्भीर आरोपमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो। सोही घटनाको सन्दर्भमा गृहमन्त्रीले सामाजिक सञ्जालमार्फत यो कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन्।
मन्त्रालयमा प्राप्त हुने सानाभन्दा साना सूचना, सुराक वा गुप्त जानकारीले अपराध रोकथाम, अनुसन्धान प्रक्रिया र भविष्यका गम्भीर घटनाहरूको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्ने उनले औँल्याएका छन्। यस्ता सूचनाको संवेदनशीलतालाई कुनै पनि हालतमा नजरअन्दाज गर्न नसकिने उनको ठहर छ।



तपाईको प्रतिक्रिया दिनुहोस