कांग्रेस महाधिवेशन सार्न शेखर र पूर्णबहादुरको दबाब, कार्यतालिका नरोकिने सभापति थापाको अडान
नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३ असोजदेखि घोषित १५औँ महाधिवेशनको कार्यतालिका सार्न तीव्र दबाब परेको छ। पूर्वसंस्थापन पक्षीय नेताहरू शेरबहादुर देउवा र शेखर कोइराला पक्षका अधिकांश नेताहरू समेत सहभागी हुन थालेपछि अधिवेशनको मिति सार्नुपर्ने माग उठेको हो।
पूर्वउपसभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाले महाधिवेशनका कार्यक्रम स्थगित गरी पार्टीलाई एकीकृत बनाउन आह्वान गरेका छन्। सानेपास्थित केन्द्रीय कार्यालयमा नेताहरूको भिड लागेपछि विज्ञप्ति जारी गर्दै डा. कोइरालाले पार्टी विभाजित र गन्तव्यविहीन बन्दै गएकाले दुवै महाधिवेशन रोक्री मध्यमार्गी समझदारीको बाटो खोज्न माग गरेका छन्।
त्यस्तै, आफ्नो समूहलाई सभापति थापातिर जोडेका पूर्वउपसभापति खड्काले पनि ३ असोजदेखि सुरु हुने १५औँ अधिवेशनको कार्यतालिका केही समय सार्न आग्रह गरेका छन्। उनले अधिवेशन नरोकिए पार्टी विभाजन हुन सक्ने र त्यसले देशमा समेत गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्। तर, शेखरले गगनलाई सभापति भन्न नरुचाए पनि खड्काले भने विशेषबाट निर्वाचित सभापति भन्दै सम्पूर्ण एकताको नेतृत्व लिन आग्रह गरेका छन्।
केन्द्रीय कार्यालयमा नेताहरूसँगको छलफलमा सभापति थापाले भने तोकिएको समयमै अधिवेशन गर्नु आफ्नो संवैधानिक र कानुनी बाध्यता भएको बताएका छन्। अदालतले समेत १६ असोजमा हुने अधिवेशन रोक्नु नपर्ने भन्दै आदेश दिएकाले पछि हट्न नमिल्ने उनको भनाइ छ।
यद्यपि, सबैलाई समेट्न र लचक हुन आफू तयार रहेको उल्लेख गर्दै थापाले १५औँ महाधिवेशनको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाबाट गराउन तयार रहेको बताएका छन्। “पूर्वसभापतिले आएर महाधिवेशन उद्घाटन गरिदिँदा सम्मान हुन्छ” थापाले भने। नेताहरूले जिल्ला र प्रदेशको अधिवेशन महाधिवेशनपछि गर्ने लगायतका विकल्पहरूमा छलफल अघि बढाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस