एमालेसँग तत्काल एकताको कुरा हल्ला मात्रै हो : नेता वर्षमान पुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट गरिने भन्ने चर्चामा कुनै सत्यता नरहेको प्रष्ट पारेका छन् ।
शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता पुनले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको जिकिर गर्नुभए पनि भविष्यमा पार्टी एकता गर्ने विषयमा नेतृत्व तहमा छलफल भने भइरहेको खुलाउनुभयो।
एमालेसँग प्रदेश सरकारमा सहकार्य भइसकेको उल्लेख गर्दै उनले संविधान तथा लोकतन्त्रको रक्षा र वैैदेशिक हस्तक्षेपको प्रतिवादका लागि वाम शक्तिहरू तथा आवश्यकता अनुसार कांग्रेससँग पनि सहकार्य जारी रहने प्रष्ट पारेका छन् । एमालेभित्रको आन्तरिक राजनीतिक बहस निष्कर्षमा नपुगुञ्जेल पार्टी एकताको स्थिति नबन्ने उनको भनाइ छ।
यसैबीच, नेता पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान र योगदान नरहेका शक्तिहरू सत्तामा पुगेको टिप्पणी गर्दै संविधानप्रतिको दृष्टिकोणका बारेमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । सरकारप्रति आम जनताको ठूलो अपेक्षा भए पनि सोही अनुरुप परिणाम दिन नसक्दा जनआक्रोश बढ्दै गएको उनको निष्कर्ष छ।



तपाईको प्रतिक्रिया दिनुहोस