कांग्रेस नेतृत्वमा गगन थापाको विकल्प छैन: उपसभापति भुसाल
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको आगामी नेतृत्वमा गगनकुमार थापाको कुनै विकल्प नरहेको बताएकी छन्। उनले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलियो, सक्षम र जनतासँग जोडिएको कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिएकी छन्।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ भुसालले भनिन्, “कांग्रेसको नेतृत्वमा अहिले गगनको विकल्प छैन। १५ औँ महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ। आन्तरिक गुटको अन्त्य गर्दै सबै पक्षलाई समेटेर बलियो र सक्षम कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो।”
पूर्वउपसभामुखसमेत रहेकी भुसालले लामो राजनीतिक सङ्घर्षपछि नेपालमा प्राप्त लोकतन्त्रको संरक्षण र संस्थागत विकासमा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको दाबी गरिन्। मुलुकको समृद्धि र दिगो विकासका लागि राजनीतिक स्थिरता अपरिहार्य रहेको भन्दै उनले राजनीतिक दलहरू आन्तरिक रूपमा पनि बलियो हुनुपर्ने बताइन्।
त्यस्तै, जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक समीकरणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकार सञ्चालनको जिम्मेवारीमा पुर्याएको उल्लेख गर्दै उनले वर्तमान सरकार पाँचै वर्ष टिक्नुपर्ने धारणा राखिन्। तर, सरकारका गतिविधि हेर्दा जनताले रास्वपाप्रति विश्वास गरे पनि मुलुक हाँक्ने नेतृत्वमा भने केही अपरिपक्वता देखिएको उनको आरोप छ।
पार्टी सभापति शेरबहादुर देउवालाई ससम्मान अभिभावकीय भूमिकामा स्वीकार गर्न आफूहरू तयार रहेको बताउँदै भुसालले आफू पार्टीको वर्तमान पदाधिकारी भएकाले आगामी महाधिवेशनमा स्वाभाविक आकांक्षी रहेको स्पष्ट पारिन्। साथै, अन्य आकांक्षीहरूको नाम पनि आइसकेपछि सबैको सल्लाह र समझदारीमा आगामी यात्रा तय हुने उनको भनाइ थियो।



तपाईको प्रतिक्रिया दिनुहोस