गगन-विश्वप्रकाशलाई बधाई दिँदै योगेशले भने - "दूषित सत्ताको म्युजिकल चेयरबाट मुलुकलाई मुक्त गरौँ"
नेकपा (एमाले) का नेता योगेश भट्टराईले नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले दुवै जनालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
जनताको आशा, भरोसा र विश्वासका आधारमा नेतृत्वमा आएकाले त्यसलाई टुट्न नदिन उनले दुवै नेतालाई ध्यानाकर्षण गराएका छन्। लोकतन्त्र र संविधानको रक्षा, विकास तथा कार्यान्वयनमा सहकार्य गर्दै स्वस्थ राजनीतिक प्रतिस्पर्धाको फराकिलो राजमार्गमा आफूहरूको भेट हुने उनले बताएका छन्।
यस्तै, साझा प्रयत्नमार्फत व्यक्ति र स्वार्थकेन्द्रित दूषित सत्ता गठबन्धनको अत्यासलाग्दो 'म्युजिकल चेयर'बाट मुलुकलाई मुक्त गर्नुपर्नेमा नेता भट्टराईले जोड दिएका छन्। उनले सम्मानित एवं मर्यादित राजनीतिक संस्कृति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै १५औँ महाधिवेशनको सफल आयोजनाका लागि समस्त कांग्रेसजनलाई बधाई समेत दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस