नयाँ योजना थप्नुभन्दा पुराना सम्पन्न गर्न जरुरी: मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नुभन्दा थालिएका योजना पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको आज जवाफ दिँदै उनले सरकारले नयाँ योजनाभन्दा पनि सुरु भइसकेका राष्ट्रिय प्राथमिकताका योजनामा स्रोत प्राथमिकीकरण गरी सम्पन्न गर्ने नीति लिएको बताए ।
उनले बर्खामा क्षतिग्रस्त बिपी राजमार्गलगायत सबै खण्डहरु पुनःनिर्माणको प्रक्रिया सुरु भइसकेकोसमेत संसद्लाई जानकारी गराएका छन् । सांसदहरुले विभिन्न योजना, आयोजनागत रुपमा एवं नीतिगत रुपमा विभिन्न प्रश्नहरु राख्नुभएको थियो । सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिँदै मन्त्री दाहालले संसद्मा उठेका विषयमा प्रष्ट पार्न र सांसदहरुको जवाफ दिन मन्त्रालय सधैँ तत्पर रहेको प्रतिबद्धतासमेत जनाए ।
सडक सुरक्षा उच्च प्राथमिकतामा
सडक तथा सवारी दुर्घटना न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री दाहालले निर्माणाधीन सडकमा सडक सुरक्षालाई सडक सङ्केत, सडक चिन्ह, जेब्राक्रसिङलगायत सडक सुरक्षासँग सम्बन्धित संरचनहरु निर्माण गर्ने गरिएको बताएका छन् ।
सडक दुर्घटना न्यूनीकरण गर्नका लागि मन्त्रालयले सडक सुरक्षा कार्ययोजना २०२१–३० निर्माण गरी सडक विभाग, यातायात व्यवस्था विभाग र सडक सुरक्षा परिषद्मार्फत दुर्घटना न्यूनीकरण एवं दुर्घटनापछिको उद्धार तथा उपचारका कार्य प्रभावकारी रुपमा सञ्चालनको प्रबन्ध गरिएको उनले बताए ।
बीस वर्षभन्दा पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने सरकारको निर्णय कार्यान्वयन भएको, प्रस्तावित सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी विधेयक, २०८१ मा पुराना सवारीसाधनको व्यवस्थापनका विषय समेटिएको तथा पुराना सवारीसाधनलाई पत्रु गरिनेसम्बन्धी मापदण्ड तयारीका क्रममा रहेको मन्त्री दाहालले संसदलाई जानकारी गराएका छन् ।
यस्तै हाल कायम रहेका सडकमा रहेका सडक सुरक्षासँग सम्बन्धित संरचनाको मर्मत संरचनालाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।
वर्षायाममा यातायात अवरुद्ध हुन नदिइने
मन्त्री दाहालले संसद्मा जवाफ दिने क्रममा आगामी वर्षायामका समयमा सवारी साधन सञ्चालन अवरुद्ध हुन नदिने गरी मन्त्रालयले काम गरिरहेको बताएका छन् । बाढी पहिरोले क्षति भएका तथा आगामी वर्षामा सडक अवरोध हुने सम्भावना रहेका स्थानहरुमा वैकल्पिक मार्गको विकास र विस्तार, डाइभर्सन निर्माणलगायतका वैकल्पिक उपायहरु अवलम्बन गरिएको उनको भनाइ थियो । सम्भावित जोखिमलाई मध्यनजर गरी मन्त्रालयले वर्षात्का समयमा सवारी आवागमन अवरुद्ध हुन नदिन काम गरिएको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस